असार २८ देखि पहिलो चरणको आईपीओ विक्री गर्दै माण्डु हाइड्रोपावर 

Share News

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १०६ थप गरी प्रतिकित्ता रू. २०६ मा आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी रू. १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारको २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न लागिएको छ । स्थानीयका लागि विक्रीमा ल्याइने शेयरमा ललितपुरको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा ईन्द्रसरोवर गाउँपालिका वडा नं. ३ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता शेयर विक्रीमा आउनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री अवधि छिटोमा साउन ११ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन २६ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ ।

विक्री प्रबन्धकसँगै स्थानीयले आयोजनाको कार्यालय, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत रू. ४ अर्ब १ करोड ९४ लाख ३७ हजार छ भने प्रतिमेगावाट औसत लागत रू. १८ करोड २७ लाख छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।