सिटिजन लाइफले असार ३१ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्दै

Share News

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३१ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता रू. २४४ मा १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १४४ थप गरेको हो । 

जारी पूँजी रू. ३ अर्ब ७५ करोडको ३० प्रतिशत शेयर विक्री गर्न अनुमति पाएकोमा पहिलो चरणमा ११ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । कुल कित्ता शेयरमध्ये ५ लाख ६२ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूमा प्रतिकित्ता रू. १०० अंकित मूल्यमै विक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।

यीबाहेक ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखी ९० लाख कित्ता भने दोस्रो चरणमा सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याइने कम्पनीको भनाइ छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १४ गतेसम्म यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ११ लाख २५ हजार कित्तासम्म वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको शेयर खरीद माग गर्न सक्ने व्यवस्था छ । 

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ कात्तिक २ गतेदेखि कारोबार शुरू गरेको हो । हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर सञ्चित नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म रू. १ अर्ब ४३ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ४३ छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।