पाँच कम्पनीको १४ करोड ६६ लाख भन्दा बढी कित्ता हकप्रद शेयर आउदै,कुन कम्पनीको कति कित्ता ?

Share News

काठमाडौं । पाँच कम्पनीले कुल १४ करोड  ६६ लाख ११७ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । अपर तामाकोशी हाइड्रोपावर, अपि पावर कम्पनी,अरुण काबेली पावर,सिनर्जी पावर डेभलपमेन्ट र मल्टीपर्पस फाइनान्सले उक्त कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएका हुन । 
यी कम्पनीमध्ये  अपि पावर ,अरुण काबेली,सिनर्जी पावर र मल्टी पर्पस फाइनान्सले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज मिति तय गरिसकेका छन् । 

अरुण काबेलीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार १३ गते स्वीकृति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि असार २५ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन पाउनेछन् । 

बोनस शेयरपश्चात् कायम चुक्ता पूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० को आधारमा कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । शत प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७१ करोडभन्दा बढी कायम हुनेछ । 

अपि पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट असार ६ गते अनुमति पाएको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनको लागि असार २२ गते बुक क्लोज गरिसकेको छ ।

यस बुक क्लोजको आधारमा असार २१ गते सम्म कायम शेयरधनीले  हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड ६५ लाखभन्दा बढी पुग्नेछ ।

त्यस्तै सिनर्जी पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार २० गते सेबोनबाट अनुमति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ । 

त्यस्तै मल्टी पर्पस फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनबाट असार २६ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि साउन १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी रू. ४५ करोड २० लाख छ । ३५ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात उक्त पूँजी रू. ६१ करोडभन्दा बढी पुग्नेछ ।

अपर तामाकोशी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार २२ गते सेबोनबाट अनुमति पाएको हो । यस कम्पनीले भने बुक क्लोज मिति तय गरेको छैन । हाल कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब ५९ करोड छ । हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्ता पूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ ।

यी कम्पनीबाहेक नेशनल हाइड्रोपावर कम्पनीले असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । आवेदकले साउन १८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । 

कुन कम्पनीको कति ?


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।