वैदेशिक रोजगारीमा रहेका नेपालीमा मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Share News

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ बुधवार बाँडफाँट गरेको हो । 

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री गरेको हो । साउन १४ गतेदेखि ३० गतेसम्म स्थानीयमा विक्री गरेको आईपीओ भने बाँडफाँट हुन बाँकी छ ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिएको हो ।

आयोजना प्रभावित स्थानीयमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ५ लाख ६१ हजार ३०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बुको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरूका लागि विक्री खुला गरिएको हो । योबाहेक बाँकी १ लाख ८७ हजार १०० कित्ता शेयर अति प्रभावित क्षेत्र बाहेकका सोलुखुम्बुको स्थानीय बासिन्दाहरूमा विक्री गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गरेको हो । 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

कम्पनीले सोलुखुम्बुमा ९ दशमलव ५ मेगावाट मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।