काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि भदौ १३ गतेसम्म मात्र आईपीओ विक्री खुला गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओसमेत जोडेर सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ । बाँकी रहेको आईपीओमध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिका लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
भदौ १२ गतेसम्म कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा ६ दशमलव ५८ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीको आईपीओको लागि लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी मानिने ईक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।
यो कम्पनी २०६९ वैशाख ३ गते पब्लिक लिमिटेड कम्पनीमा दर्ता भई सञ्चालनमा छ । कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रुपैयाँ छ भने प्रतिमेगावाट लागत १८ करोड २७ लाख रुपैयाँ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।