थप ११ नयाँ धितोपत्र दलाल व्यवसायीले पाए नेप्सेको सदस्यता 

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप ११ नयाँ धितोपत्र व्यवसायी (ब्रोकर) कम्पनीलाई सदस्यता दिएको छ । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीको लाइसेन्स प्राप्त गरिसकेका ११ कम्पनीलाई सदस्यता दिने निर्णय भएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार भदौ १९ गतेको नेप्से सञ्चालक समिति बैठकले सदस्यता निर्णय गरेको हो । यी ११ कम्पनी सीमित कार्य दलाल व्यवसायी हुन् ।

पराजुलीका अनुसार बोर्डबाट साउन ४ गते लाइसेन्स पाएका मिल्की वे शेयर ब्रोकर कम्पनी लिमिटेड, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटिज लिमिटेड, पाही इन्भेस्टमेन्ट प्रालि, एसपीएसए सेक्युरिटिज लिमिटेड, एनएमबि सेक्युरिटिज लिमिटेड, सानिमा सेक्युरिटिज लिमिटेड, स्टकस्कार्टस् सेक्युरिटिज लिमिटेड, इन्दिरा सेक्युरिटिज लिमिटेड, ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटिज लिमिटेडलाई नेप्सेको सदस्यता दिएको हो ।

यसअघि नेप्सेले १७ धितोपत्र व्यवसायी कम्पनीलाई सदस्यता दिइसकेको छ । अब नेप्सेको सदस्यता पाउने नयाँ धितोपत्र व्यवसायीको संख्या २८ पुगेको छ । यसअघि नेप्सेको सदस्यता पाएका सबै कम्पनीले कारोबार शुरू गरिसकेको समेत नेप्सेले जानकारी दिएको छ । 

तीन वर्ष नयाँ धितोपत्र व्यवसायीको लाइसेन्स वितरण गर्न नपाउने व्यवस्था गर्दै बोर्डले ४३ नयाँ धितोपत्र व्यवसायीलाई लाइसेन्स वितरण प्रक्रिया अघि बढाएको हो । पहिलो चरणमा भौतिक पूर्वाधार निर्माणपछि मात्र धितोपत्र व्यवसायीको अन्तिम लाइसेन्स वितरण गर्ने गरी बोर्डले ४३ कम्पनीलाई आशयपत्र दिएको थियो । हालसम्म बोर्डबाट ३७ कम्पनीले धितोपत्र व्यवसायीको लाइसेन्स पाएका छन् । 

बोर्डले विभिन्न चरणमा गरी ती कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिएको हो । बोर्डबाट पहिलो चरणमा ७, दोस्रो चरणमा ११, तेस्रो चरणमा ११, चौथो चरणमा ३ र पाँचौं चरणमा ५ कम्पनीले ब्रोकर लाइसेन्स पाएका हुन् । बोर्डले हालसम्म एक धितोपत्र व्यापारी, तीन पूर्ण कार्य गर्ने धितोपत्र दलाल र ३३ सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स दिएको हो । बोर्डबाट तेस्रो चरणमा धितोपत्र व्यवसायीको लाइसेन्स पाएका ११ कम्पनीले नेप्सेको सदस्यता पाएका हुन् । 

बोर्डबाट लाइसेन्स लिएपछि पनि कम्पनीहरूले धितोपत्र दोस्रो बजार सञ्चालक (नेप्से) को सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ । नेप्सेले सदस्यता दिएपछि कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीले आवश्यक सम्झौता गरी नमूना कारोबार (मक ट्रेडिङ) गराउनुपर्छ । त्यसमा कुनै अवरोध नआए नेप्सेले अघि बढ्ने (गो लाइभ) पत्र दिन्छ । नेप्सेको सदस्यता पाएका कम्पनीले सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यतासमेत लिनुपर्छ । 

नयाँ धितोपत्र व्यवसायी पूँजीका हिसाबमा तीन किसिमको रहने व्यवस्था छ । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्ता पूँजी ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको हो । 

बोर्डबाट धितोपत्र व्यवसायीको लाइसेन्सका लागि आशयपत्र पाएका अझै ६ कम्पनी लाइसेन्सको पखाइमा छन् । आशयपत्र पाएका कम्पनीले आवश्यक पूर्वाधार तयार गरिसकेपछि बोर्डले निरीक्षण गरी योग्य ठाने लाइसेन्स दिने व्यवस्था छ । बाँकी कम्पनीसमेत सोही प्रक्रिया बमोजिम लाइसेन्स पाउने लाममा रहेको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।