दशैंअघि लाभांश पारित गर्दै सिटिजन्स बैंक

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले यस वर्षको लाभांश दशैंअघि पारित गर्ने भएको छ । बैंकले यस वर्ष ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजारको आधारमा करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले गत वर्ष भने कुल ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

पछिल्लो दुई आर्थिक वर्षमा बैंकले नगद लाभांश वितरणमा जोड दिइरहेको छ । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले असोज २६ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

असोज ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको थियो ।

सभामा लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्न प्रस्ताव पेस गरिनेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने बताइएको छ । साथै संस्थापक शेयरधनीबाट तीन जना र सर्वसाधारण शेयरधनीहरूबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १५ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।