असोज १७ देखि १० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक 

Share News

काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासन बन्द छिटोमा असोज २१ गतेभित्र हुनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा कात्तिक १ गतेसम्म विक्री लम्बिनेछ ।

बैंकको ऋणपत्र तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ । 

ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।