२९ % बोनस शेयर पारितपछि एनआईसी एशिया बैंकको चुक्ता पूँजी पुग्यो करीब १५ अर्ब

Share News

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ । कम्पनीले प्रस्तावित २९ प्रतिशत बोनस शेयर पारित गरेसँगै चुक्ता पूँजी वृद्धि भएको हो । असोज २८ गते २६औं वार्षिक साधारण सभा सम्पन्न गरी बैंकले प्रस्तावित लाभांश पारित गरेको हो ।

भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश बैंकले एक महीनामै पारित गर्न सफल भएको हो । बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँको आधारमा बोनससँगै कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांशसमेत पारित गरेको छ ।

विगत दुई आर्थिक वर्ष लगानीकर्ताको हात खाली भएको अवस्थामा यस वर्ष दशैअघि नै लाभांश पारित गराउन बैंक सफल बनेको हो । बैंकले अहिलेसम्म अधिकतम ४१ दशमलव शून्य ५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । आर्थिक वर्ष ०७१/७२ को मुनाफाबाट बैंकले हालसम्मकै उच्च लाभांश वितरण गरेको थियो । उक्त वर्ष बैंकले ३९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकले पछिल्लो पटक आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गरेको थियो । साे वर्षको मुनाफाबाट बैंकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसयता दुई वर्ष बैंकका शेयरधनीहरूले लाभांश पाएका थिएनन् । 

धितोपत्र दोस्रो बजारमा बैंकको शेयर मूल्य प्रतिकित्ता ५३१ कायम छ । देशभर आफ्नो पहुँच विस्तार गर्ने क्रममा यस बैंकले ३६० शाखा कार्यालय, ६१ शाखारहित शाखा, ६१३ एटीएम बुथ र १०९ ओटा विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा छ । बैंकले नविनतम् प्रविधिको प्रयोग गरी उत्कृष्ट सेवा प्रदान गर्ने, नयाँ क्षेत्रमा लगानी एवम् अवसरहरूको निरन्तर खोजी गर्ने, प्रतिस्पर्धी क्षमताको विकास गर्ने, विवेकशील जोखिम व्यवस्थापनको नीतिलाई अंगिकार गर्ने, उत्पादनशील क्षेत्र कर्जा लगानी वृद्धिका लागि सम्भाव्य अवसरहरूको खोजी गर्ने र मितव्ययी खर्चमा जोड दिने लगायतका रणनीति लिएर अघि बढेको छ । बढ्दो निष्क्रिय कर्जा र बढ्दो सञ्चालन लागतलाई बैंकले आगामी दिनको चुनौतीको रूपमा लिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।