काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आईपीओ भोलि अर्थात सोमवार देखि विक्री खुला हुने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशत दरको ३ करोड कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सर्वसाधारणमा प्रतिशेयर एकसय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा ३० लाख कित्ता आईपीओ विक्रीमा आउने भएको हो । मङ्सिर १८ गते सम्म कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।
पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये सामूहिक लगानीकोषका लागि १५ लाख कित्ता, कर्मचारीका लागि ६ लाख कित्ता बाँडफाँट हुनेछ भने २ करोड ४९ लाख कित्ता आईपीओ भने दोस्रो चरणमा सार्वजनिक निष्कासनमा आउनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।
धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रूपमा यो कम्पनी भित्रिन लागेको हो । यसअघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत छ ।
यो कम्पनी २०७८ असार ३१ गते तत्कालित बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा छ । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ ।
हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।