काठमाडौं । पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रूपमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड धितोपत्र दोस्रो बजारमा प्रवेश गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्यसमेत जोडेर आईपीओ विक्री गरी धितोपत्र दोस्रो बजारमा प्रवेशको तयारी गरेको हो ।
सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकिएको छ । कम्पनीले मङ्सिर ४ गतेदेखि १८ गतेसम्म सार्वजनिक निष्कासन गरी मङ्सिर २४ गते वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरी बाँकी रहेको २ करोड ७० लाख कित्ता शेयरमध्ये ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १५ लाख कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिसकेको जानकारी कम्पनीले दिएको छ । अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता भने मङ्सिर २७ गतेदेखि सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस ११ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधि पुस १ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपाल लिमिटेडले ईक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा प्रर्याप्तरूपमा सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको परिचय :
२०७८ साल जेठ २३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७८ साल असार ३१ गते तत्कालिन बीमा समितिबाट कम्पनीले कारोबार सञ्चालनका लागि अनुमति पाएको थियो । यस कम्पनी नेपाल बाहिरका बीमा कम्पनीहरूबाट समेत पुनर्बीमा व्यवसाय भित्र्याउने उदेश्य सहित सञ्चालनमा रहेको छ । कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा रहेको छ । कम्पनीले सम्बन्धीत निकायबाट स्वीकृति लिई स्वदेशमा कर्पोरेट क्षेत्रिय र शाखा कार्यालय तथा विदेशमा पनि शाखा कार्यालय स्थापना गर्न सक्नेछ । पुनर्बीमा व्यवसायलाई स्वदेश तथा विदेशमा विस्तार गर्नका लागि कम्पनीले आईपीओबाट संकलित पूँजी उपयोग गर्ने जानकारी दिएको छ ।
पूँजी संरचना :
अधिकृत पूँजी २१ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रूपैयाँ रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ७ अर्ब रूपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्तापूँजी १० अर्ब रूपैयाँ कायम गर्नेछ । हाल संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।
वित्तीय अवस्था :
कम्पनी सुरुवाती समयदेखिनै सञ्चित नाफामा रहेको देखिन्छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणलाई हेर्दा आर्थिक वर्ष ०७७/७८ मा कम्पनीको सञ्चित नाफा ९४ लाख रूपैयाँभन्दा बढी रहेको छ । आर्थिक वर्ष ०७८/७९ मा भने कम्पनीले २९ करोड २१ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको थियो । यी दुई आर्थिक वर्षको वित्तीय विवरण वास्तविक रहेको जानकारी कम्पनीले दिएको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रूपैयाँ ७ पैसा र प्रतिशेयर आम्दानी ४ रूपैयाँ १७ पैसा रहेको छ । गत आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले १ अर्ब २ करोड रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षभित्र १० रूपैयाँ २६ पैसा प्रतिशेयर आम्दानी र १४९ रूपैयाँ ७१ पैसा प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण समेत कम्पनीको छ ।
सञ्चालक समिति :
हाल कम्पनीमा पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । शेखर गोल्छा सञ्चालक समितिको अध्यक्ष रहेका छन् । अध्यक्ष गोल्छाले कम्पनीको २० लाख कित्ता शेयर स्वामित्व ग्रहण गरेका छन् । बिबिए गरेका गोल्छा हंशराज हुलास चन्द्र एण्ड कम्पनीमा २०१० सालदेखि हालसम्म अध्यक्ष र प्रबन्ध संचालकको रुपमा समेत रहेका छन् । हिमालयन रिइन्स्योरेन्समा गोल्छा हंशराज हुलास चन्द्र एण्ड कम्पनीको प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारीमा रहेका हुन । कम्पनीको सञ्चालकहरूमा शाहिल अग्रवाल, अमित मोर, साक्षी गुप्ता र सुभास कुमार झुनझुनवाला रहेका छन् ।
कति पाउँला पहिलो शेयर कारोबारका लागि मूल्य रेञ्ज ?
धितोपत्र बजारमा पहिलो कारोबारका लागि बजार सञ्चालकले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज तोक्ने गर्दछ । हाल दोस्रो बजारमा सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०३ रूपैयाँ ७ पैसादेखि अधिकतम प्रतिकित्ता ३०९ रूपैयाँ २१ पैसासम्मको मूल्यरेञ्ज तोक्ने देखिन्छ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपुर्तिका आधारमा निर्धारण हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।