नेपाल फाईनान्सले पुस २० गते बोलायो साधारण सभा, यस वर्ष पनि छैन लाभांश प्रस्ताव 

Share News

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले ३१औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा पुस २० गते बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

कम्पनीले यस वर्ष पनि लाभांश प्रस्ताव गरेको छैन । २०७९ जेठमा कम्पनीले ७० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०६७/६८ को मुनाफाबाट भने २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यसपछिको वर्षहरूमा भने कम्पनीले लाभांश वितरण गरेको छैन । सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि पुस ६ गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।