काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुस २५ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय वीरगन्ज, पर्सामा उक्त दिन बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रुपैयाँ छ ।
साविकको चुक्ता पूँजी वृद्धि गरी ३ अर्ब कायम गर्ने र पूँजी वृद्धि हुने भएकाले सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले गत वर्ष ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले कम लाभांश वितरण गर्न लागेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।