नेपालमा २० लाख पर्यटन ल्याउने घोषणासहित सन् २०२० मा मनाउन शुरू गरिएको नेपाल भ्रमण वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो । स्थगित भ्रमण वर्ष २०२५ मा मनाउने गरी नेपाल पर्यटन बोर्डले तयारी थालेको जानकारी उसले दिएको छ । तर, यस्तो भ्रमण वर्षको आयोजना गर्दा हल्लाखल्ला गर्नेबाहेक ठोस उपलब्धि प्राप्त भएको भने पाइँदैन । त्यसो हुँदा सरकारले यस्ता कार्यक्रम गर्नुभन्दा निजीक्षेत्रलाई राम्ररी काम गर्न दिए त्यो बढी प्रभावकारी हुन सक्छ । भ्रमण वर्षले पर्यटकमाझ सकारात्मक सन्देश पनि दिन सक्ने देखिँदैन ।
भ्रमण वर्ष भनेर विशेष कार्यक्रम मनाउनुको प्रयोजन योजनाबद्ध ढंगले पर्यटन क्षेत्रमा काम गर्नु हो । भ्रमण वर्षमा यो यो काम हुन्छ भनेर तय गरिन्छ । तर, नेपालमा मनाइएका भ्रमण वर्षले त्यस्तो कुनै ठोस उपलब्धि प्राप्त गरेको देखिँदैन र त्यसरी योजनाबद्ध ढंगले काम भएको पनि देखिँदैन । पूर्वाधार निर्माणले नयाँ गति लिएको देखिँदैन । यदि २०२५ लाई भ्रमण वर्ष मनाउने हो भने त्यसवर्ष पर्यटक आउने माध्यममा कति सुधार गर्ने हो त्यसको लक्ष्य तोकिनुपर्छ । हवाइमार्गबाट कति पर्यटक ल्याउन सकिन्छ मात्र होइन, हवाई यात्रामा केकति सुधार गरिन्छ, सेवा थपिन्छ भन्ने पनि लक्ष्य हुनुपर्छ । हवाईमार्गबाट जति पर्यटक नेपाल आउँछन्, त्यसमा नेपाल वायुसेवा निगमको अंश निकै कम छ । पहिलोपटक भ्रमण वर्ष मनाउँदा जति अंश थियो त्योभन्दा अहिले निकै घटेको छ । त्यस्तै नेपाल भित्रिएका पर्यटक नेपालभित्रका गन्तव्यमा जाने हवाईमार्ग वा सडकमा केकस्तो सुधार ल्याइयो भन्ने पनि महत्त्वपूर्ण छ । सन् २०११ मा मनाइएको दोस्रो भ्रमण वर्षको त चर्चा पनि पर्याप्त भएन । त्यसले यी क्षेत्रमा सुधार ल्याउने त कुरै परको हो ।
२०२० मा स्थगित भएको भ्रमण वर्षले त केही पनि सुधार ल्याएन । खालि पर्यटन व्यवसायीले माग गरेकाले औपचारिकताका लागि यो मनाइएको जस्तो देखियो । यद्यपि यो शुरूमै स्थगित भयो ।
योजनाबद्ध ढंगले काम नगर्ने अनि हल्लाखल्लामात्रै गर्ने भ्रमण वर्ष मनाउनुभन्दा त्यो प्रयास र बजेट पर्यटन पूर्वाधार निर्माणमा लगाउनु बढी फलदायी हुने देखिन्छ ।
वास्तवमा नेपालमा पर्यटन क्षेत्रको योजनाबद्ध विकासका लागि सरकारले उल्लेख्य काम केही पनि गरेको छैन भन्दा पनि हुन्छ । विगत केही दशकमा गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल बन्नु उल्लेख्य उपलब्धि मान्न सकिन्छ तर तिनले व्यवसाय नै गर्न नसक्दा त्यसको प्रतिफल पर्यटन क्षेत्रले पाएको छैन । सरकार आफै पर्यटन प्रवर्द्धन कसरी गर्ने भन्नेमा अन्योलमा रहेको देखिन्छ । मन्त्री फेरिएपिच्छे नयाँनयाँ कार्यक्रमको घोषणा गर्ने तर काम नगर्ने प्रवृत्ति पाइन्छ । भ्रमणबिदादेखि भ्रमण दशकसम्मको चर्चा ल्याएका विगतका पर्यटनमन्त्रीले यी कुनै पनि काम गरेनन् । अघिल्लो सरकारले ल्याएको कामलाई निरन्तरता दिन नचाहनु र नयाँनयाँ नारा तय गर्नु नै मन्त्रीहरूको कर्तव्य जस्तो बनेको छ । यस्तोमा भ्रमण दशक वा भ्रमण वर्षले पर्यटनमा तात्त्िवक अन्तर ल्याउने देखिँदैन ।
भारतीय लेखक गुरुचरण दासले ‘इन्डिया ग्रोज एट नाइट’ भन्ने पुस्तकमा सरकारले काम नगर्दा मुलुक झन् अगाडि बढ्ने कुरा उल्लेख गरेका छन् । वास्तवमा कतिपय क्षेत्रमा सरकारले हात हालेर झनै काम बिगारेको छ । नेपालको पर्यटन क्षेत्रमा पनि सरकारले हात हाल्यो झनै काम हुन्न । त्यसैले यो भ्रमण वर्ष मनाएर के के न गरें भनी मन्त्रीले भाषण गर्न पाउने आधारको केही पनि अर्थ छैन । निजीक्षेत्रलाई पूर्ण रूपमा काम गर्न दिने हो भने सरकारी पहलले भन्दा बढी पर्यटक नेपाल आउँछन् । यो वर्ष विदेशी पर्यटक आगमन संख्या १० लाख नाघेको छ । सरकारले यसको जस लिन खोजे पनि यसमा सरकारको योगदान केही पनि देखिन्न । पूर्ण रूपमा निजीक्षेत्रको पहलमा यति पर्यटक आएका हुन् । त्यसैले योजनाबद्ध ढंगले काम नगर्ने अनि हल्लाखल्लामात्रै गर्ने भ्रमण वर्ष मनाउनुभन्दा त्यो प्रयास र बजेट पर्यटन पूर्वाधार निर्माणमा लगाउनु बढी फलदायी हुने देखिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।