काठमाडौं । आज सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल टेलिकम (एनटिसी), शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीले भोलि अर्थात् पुस १९ गते बुक क्लोज गर्दैछन् ।
सोही कारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल टेलिकमले पुस २९ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा आठौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले पुस २६ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा दिउँसो २ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको १० दशमलव २६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो । कुल लाभांशमध्ये ९ दशमलव ७५ प्रतिशत बोनस शेयर छ भने शून्य दशमलव ५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश छ । सो प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा दिउँसो १ बजे शुरु हुनेछ ।
महालक्ष्मी विकास बैंकले शेयरधनीलाई चुक्ता पूँजीको ६ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सो प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौंमा २२ औं वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते बेस्ट रिसोर्ट नेपाल प्रा.लि., लेकसाइड, पोखरामा ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।
बुटवल पावरले पुस २९ गते साधारण सभा बोलाएको छ । सभाले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।