न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ निषेध : सटर बन्दगरी विरोधमा व्यापारी

Share News

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंगलवार (आज) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरले यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराएको छ ।

तर, स्थानीय व्यापारी तथा यहाँ आएका सर्वसाधारणले भने पार्किङ हटाएकोमा विरोध जनाएका छन् । उनीहरूका अनुसार पुरानो बसपार्कदेखि न्यूरोडसम्म पैदल आवत/जावत गर्न मुस्किल पर्ने भन्दै आपत्ति जनाएका हुन् । यसक्षेत्रका व्यापारीहरूले सटर बन्द गरी विरोधमा उत्रिएका छन् ।

यसअघि यस ठाउँ वरपर ३ सय ओटा चारपाङ्ग्रे सवारी साधन र ७ सय ओटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने भन्दै स्मार्ट पार्किङको नाममा चर्को शुल्क उठाउँदै आएको थियो  । सार्वजनिक सडक सवारी साधन सञ्चालनको लागि भएको भन्दै स्मार्ट पार्किंङको नाममा मनपरी शुल्क उठाउने, पार्किङ दलाल माफियाको दिन सकिएको भन्दै केही स्थानीयले भने काठमाडौं महानगरको राम्रो काम भनेका छन् ।

तयारीका विषयमा जानकारी गराउँदै सोमवार महानगर प्रहरी बलका प्रमुख एवं नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको र यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेको बताएका थिए । उनकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको छ भने यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ।

 

तस्वीरहरू: सुनिल शर्मा/आर्थिक अभियान
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।