काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको विरोधमा यहाँका व्यापारीहरूले बुधवार पनि आन्दोलन गरेका छन् । व्यवसायीहरूलाई मार पर्ने गरी गरेको ‘नो पार्किङ’को विरोधमा व्यवसायीले सटर बन्द गरेर जुद्ध शालिकमा कोणसभा गरेका छन् ।
महानगरपालिकाले मंगलवारबाट न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको थियो । महानगरले यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराएको छ । महानगरले उक्त निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ । पुरानो बसपार्कदेखि न्यूरोडसम्म पैदल आवत/जावत गर्न मुस्किल पर्ने भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । यसक्षेत्रका व्यापारीहरूले सटर बन्द गरी विरोधमा उत्रिएका छन् ।
यसअघि यस ठाउँ वरपर ३ सय ओटा चारपाङ्ग्रे सवारी साधन र ७ सय ओटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने भन्दै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङको नाममा चर्को शुल्क उठाउँदै आएको थियो । धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको छ भने यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।