राष्ट्रिय सभा निर्वाचन : कोशीमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेकी कोइराला विजयी

Share News

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको महिला कलस्टरबाट नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छन् ।

उनले सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करीब १०० मतभारले पराजित गरिन् । कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कार्कीले ४ हजार ९९२ मतभार पाइन् । निर्वाचनमा प्रदेशसभातर्फ कोइरालाले २५९७ मतभार पाउँदा कार्कीको मतभार २३३२ छ । स्थानीय तहतर्फ भने कोइरालाले २४८९ मतभार पाउँदा कार्कीको मतभार २६६० छ ।

कोइरालालाई एमाले र राप्रपाको समर्थन थियो भने कार्कीलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन थियो । 

आगामी फागुन २० गते रिक्त हुन लागेका १९ राष्ट्रियसभा सदस्य पदका लागि आज सातै प्रदेशमा निर्वाचन भएको थियो । राष्ट्रियसभा सदस्य पदमा पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।