अलैंची उत्पादन ५० प्रतिशतले घट्यो

Share News

काठमाडौं। नेपालबाट धेरै निकासी हुने वस्तुको ५औं स्थानमा अलैंची पर्छ । चालू आर्थिक वर्ष (आव)को साउनदेखि पुस मसान्तसम्ममा नेपालले विश्वका विभिन्न मुलुकमा ३ अर्ब ९० करोड ७६ लाख रुपैयाँभन्दा बढी मूल्यको २८ लाख ६६ हजार ७६० किलोग्राम अलैंची निर्यात गरेको अभिलेख भन्सार विभागसँग छ ।

गत आवको सोही अवधिमा नेपालबाट ३ अर्ब ७४ करोड १ लाख रुपैयाँ मूल्यको ४६ लाख ७३ हजार २२४ किलोग्राम अलैंची निर्यात भएको थियो ।

गत आवको उक्त अवधिको तुलनामा यो आवको सोही अवधिमा अलैंची निर्यात मूल्यका हिसाबले ४ दशमलव ४८ बढेको छ र परिमाणका हिसाबले ३८ दशमलव ६५ प्रतिशतले कम हो । चालू आवमा निर्यात भएको अलैंचीको शतप्रतिशत अंश भारत भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गतवर्षको तुलनामा यो वर्ष अलैंची उत्पादनमा ५० प्रतिशतले कमी आएकाले निर्यात पनि घटेको नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले बताए । उनले परिमाणमा घटेको देखिए पनि मूल्य नघटेको बताए । ‘अहिले अलैंचीको मूल्य बढेकाले निर्यात परिमाण घटे पनि त्यसबाट भएको आम्दानी बढेको छ,’ उनले भने, ‘यसपालि भनेको समयमा पानी परेन । समयमा पानी नपर्नाले पर्याप्त सिँचाइ भएन र फूल फुल्ने समयमा पानी नहुनाले यो वर्ष धेरै अलैंचीका बोट सुके । त्यसैगरी विगतमा अलैंचीको मूल्य घटेकाले गर्दा किसानले पनि जति मेहनत गर्नुपर्ने त्यो कम गरेको देखियो ।’ अहिले सामान्य गुणस्तरको अलैंचीको मूल्य प्रतिमन (४० किलो) ७७ हजार र जम्बो जेट (जेजे) गुणस्तरको प्रतिमन ८० हजार रुपैयाँ छ । 

गतवर्षको भन्दा यो वर्ष उत्पादनमा ५० प्रतिशतले कमी आएको छ । गतवर्ष ८ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ४ हजारदेखि ५ हजार मेट्रिक टन उत्पादन पुग्ने उनको अनुमान छ । अचेल नेपालका ४३ जिल्लामा अलैंचीको व्यावसायिक खेती गरिन्छ । अलैंची खेती गर्न सकिने जिल्ला भने ५३ छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।