चौधरी पक्राउको निजीक्षेत्रबाट विरोध

Share News

काठमाडौं। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको सम्बन्धमा व्यवसायी अरुण चौधरी पक्राउ परेलगत्तै व्यवसायीका छाता संगठनहरूले विरोध गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले बिहीवार जग्गा प्रकरणमा अनुसन्धान गर्न भन्दै सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई पक्राउ गरेपछि सोही दिन व्यावसायिक संगठनहरूले पत्रकार सम्मेलन र प्रेस विज्ञप्ति जारी गरी व्यवसायीमाथिको धरपकडको विरोध गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले प्रेस विज्ञप्ति जारी गरेको छ । अर्काे छाता संस्था नेपाल उद्योग परिसंघले बिहीवार साँझ पत्रकार सम्मेलन गरेको छ । महासंघले मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी, व्यवसायीमाथि भइरहेको धरपकड सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । चौधरीलाई पक्राउ गरेको सम्बन्धमा धारणा सार्वजनिक गर्दै महासंघले भनेको छ, ‘सम्बद्ध विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई महासंघले पटक–पटक आग्रह गर्दै आएको छ ।’ पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले व्यवसायीलाई थप निरुत्साहित बनाएको महासंघले उल्लेख गरेको छ । महासंघले पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानूनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ । 

महासंघले आसन्न लगानी सम्मेलनलाई समेत जोडेर अहिलेको पक्राउले स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने उल्लेख गरेको छ । परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राजेशकुमार अग्रवालले धरपकडप्रति गम्भीर विरोध रहेको बताए । ‘यसबाट सबै उद्योगी व्यवसायीको मानमर्दन भएको छ,’ उनले भने, ‘उचित र पर्याप्त कारणविना पक्राउ गर्ने कार्य न्यायसंगत देखिँदैन ।’

सरकारी स्वामित्वमा रहेको उक्त कारखानाको जग्गा हिनामिना गरेको र त्यसमा अनुसन्धान गर्न भन्दै सीबीआईले बिहीवार चौधरीसहित कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायणसिंह थापालाई पक्राउ गरेको छ । सरकारले २०२२ सालमा बाँसबारी छाला तथा जुत्ता कारखाना स्थापना गरेको थियो । सरकारले उक्त कारखाना २०४८ पछि निजीकरण गरेको थियो ।

चार दिन हिरासतमा

यसैबीच चौधरी र थापालाई चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि उक्त अवधि हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीलाई उद्धृत गर्दै राससले पठाएको समाचारमा उल्लेख छ । 

सीआईबीको टोलीले चौधरीलाई काठमाडौंको लैनचौर र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको थियो । बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा उनीहरूलाई पक्राउ गरिएको ब्युरोकोभनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।