हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध, २ दिन मौसम सफा रहनेछ : महाशाखा

तस्वीर : कुलदिप न्यौपाने

Share News

रुकुम पूर्व । हिउँ परेपछि रुकुम पूर्वसँग जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीवार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् ।  

मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ । बिहीवार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएन । आज सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । 

सडक अवरुद्ध भएपछि बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन् । अलपत्र परेका यात्रुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको छ ।  

हिउँ परेपछि शहीदमार्ग पनि अवरुद्ध भएको छ । भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाको सिमाना रिकालेकदेखि हुकामसम्मको सडकखण्ड अवरुद्ध छ । हिउँ परेपछि पुथा उत्तरगङ्गा गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रमा फोन सेवासमेत ठप्प छ । 

हल्का वर्षाको सम्भावना 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौमसविद गोविन्दकुमार झाका अनुसार आज र शनिवार मौसममा सुधार रहे पनि आगामी आइतवारदेखि देशको पश्चिम भेगबाट पश्चिमी वायुको सक्रियता बढ्ने भएकाले केही दिन मौसममा गडबडी हुनेछ ।

बिहीवार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भएको छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भू–भागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षा भएको थियो ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौंमा शून्य दशमलव पाँच मिलिमिटर वर्षा मापन गरिएको छ । त्यसैगरी, डडेलधुरामा १४ दशमलव आठ, दिपायलमा १२ तथा जुम्लामा दुई दशमलव ६ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १७ दशमलव आठ डिग्री सेल्सियस छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।