आईक्यानको २७औं वार्षिकोत्सव : ‘भ्रष्टाचारमुक्त समाज निर्माणमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण’

Share News

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को २७औं वार्षिकोत्सव तथा छैटौं चार्टर्ड एकाउन्टेन्ट दीक्षान्त समारोह सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रम अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष सीए सुजनकुमार काफ्लेको सभापतित्वमा भएको हो ।

कार्यक्रममा अर्थमन्त्री महतले सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने बताए । दीक्षान्तमा गरेको प्रतिज्ञालाई शिरोपर गरी आफ्ना पेशागत क्रियाकलापमा संलग्न रहन उनले आग्रह समेत गरे । साथै बढ्दो बेरुजुलाई वर्गीकरण गरी बेरुजु नियन्त्रण तथा कम गर्न चार्टर्ड एकाउन्टेन्टको साथ सहयोग लिई कर प्रशासन जस्ता क्षेत्रमा चार्टर्ड एकाउन्टेन्टको संलग्नता आवश्यकता रहेको महसूस भएको उनले बताए ।

कार्यक्रमका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दीक्षित भएका नयाँ चार्टर्ड एकाउन्टेन्टलाई विचलित नभई लेखा व्यवसायको विकास र विस्तारमा अगाडि बढ्न आग्रह गरे । कार्यवाहक महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले देशमा वित्तीय व्यवस्थापनमा देखिएका कमी कमजोरी तथा बढ्दो बेरुजु कम गर्न चार्टर्ड एकाउन्टेन्टहरूको विशेष भूमिका महत्त्वपूर्ण रहने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष काफ्लेले २०७९/८० मा संस्थाले गरेका क्रियाकलाप, उपलब्धिका साथै संस्थाका योजना अनुरूप सञ्चालन भइरहेका कार्यक्रमका विवरण प्रस्तुत गरेका थिए । सो अवसरमा अर्थमन्त्री महतले उत्कृष्ट कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै ‘आईक्यान मोबाइल एप्लिकेशन’ सार्वजनिक गरेका थिए । 

यसैबीच, संंस्थाले ‘छैटौं चार्टर्ड एकाउन्टेन्ट दीक्षान्त समारोह’ समेत सम्पन्न गरेको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाकोे प्रमुख उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरिएको हो । उपकुलपति थापाले चार्टर्ड एकाउन्टेन्सीका विभिन्न तहहरूमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने विद्यार्थीलाई पदक तथा प्रमाणपत्र र उत्तीर्ण ७० जनालाई दीक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा उपकुलपति थापाले नेपालको अर्थ व्यवस्था सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका उल्लेख्य रहेको बताए । दक्ष जनशक्ति उत्पादन गर्दै आएको आईक्यानको प्रशंसा गर्दै उनले काठमाडौं विश्वविद्यालय सहकार्यमा काम गर्न सकारात्मक रहेको बताएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।