२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा, दुई महीनामा सक्ने लक्ष्य !

Share News

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महीनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका काम धमाधम भइरहेका छन् ।

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरू जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरू निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।

उपकरणहरूको जडान धमाधम भइरहेको छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करीब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।  

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ ।

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करीब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ । प्रसारण लाइनको करीब २ किलोमिटर तार तानिएको छ ।

आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न सकिरहेको छैन । हाल मध्यभोटेकोशी जलविद्युत आयोजनाका संरचनाहरू निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिवार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी कामहरू तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो । साथै, टोलीले मध्यभोटेकोशी जलविद्युत आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यहरूको जानकारी लिएको थियो ।

कार्यकारी निर्देशक घिसिङले उपकरणहरू सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुई महीनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिए । ‘सबस्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको छ, नयाँ खिम्ती–बाह्रबिसे र बाह्रबिसे लप्सीफेदी (काठमाडौं) प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ, अन्य कुनै समस्या नआएमा निर्माण आगामी २/३ महीनाभित्र सम्पन्न हुने अवस्था बनेको छ, त्यसैले सबैले आ–आफ्नोतर्फबाट अन्तिम पहल र कोसिस गरौं,’ घिसिङले भने । 

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड–१९ महामारीलगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।

प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायीरूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको काम तत्काल शुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।

कम्पनीले करीब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नुपर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करीब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनुपर्ने छ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरू आपूर्ति भइसकेका छन् । ८ ओटा टावरमध्ये ५ ओटाको जग हालिसकिएको छ ।

तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण शुरु गरिएको हो । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेका छन् ।  

तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ ओटा टावरहरूमध्ये ८ ओटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये ७ ओटा टावर सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नुपर्ने छ ।

१ ओटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको ३० किलोमिटर तार तानिएको छ । यो खण्ड निर्माणको जिम्मा पाएको ठेकेदारले समस्या समाधान भएमा तीन महीनाभित्रमा काम सक्ने बताएको छ ।

त्यस्तै बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण बाँकी छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।