पातीहाल्नेमा हिउँ खेल्नेको भीड, पोहोरभन्दा बढे पर्यटक !

Share News

ढोरपाटन (बागलुङ) । बिहीवार बिहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो । 

बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिस यहाँ आएका छन् । भारी हिमपातका कारण तीनसम्म पनि यस क्षेत्रमा हिउँ पग्लिएको छैन । हिउँ खेल्न पातीहाल्ने हिँडेका सबै पर्यटक अत्यधिक हिमपातले सडक अवरुद्ध हुँदा त्यहाँ पुग्न सकेका छैनन् । 

निसीखोला गाउँपालिकाले शुक्रवार र शनिवार दुई दिन मेसिन लगाएर सडक खुलाएपछि केही पर्यटक मात्रै पातीहाल्ने पुग्न सकेका छन् । पर्यटक पातीहाल्नेसँगै तिलाचन र रिगतालसम्म पुगेका छन् । 

पातीहाल्नेबाट करीब आधा घण्टाको पैदल यात्रामा तिलाचन र १५ मिनेटको पैदल यात्रामा रिगताल पुग्न सकिने निसीखोला–६ का स्थानीय वीरबहादुर विकको भनाइ छ । शुक्रवारदेखि दैनिक चार सयको हाराहारीमा पर्यटक पातीहाल्नेतर्फ लागेको उनले बताए । ‘पोहोर परारतिर यतिको मान्छे आउँदैनथे, अहिले त टाढा–टाढाबाट गाडी लिएर आएका छन्,’ उनले भने, ‘आज बिहानदेखि पातीहाल्नेमा हिउँ खेल्नेको भिड छ ।’ 

गुल्मीको मुसिकोटबाट हिउँ खेल्न आएका अभय घिमिरेले पहिलो पटक यही आएर हिउँ देखेको बताए । ‘बुटवलबाट घर आएको बेलामा साथीहरूसँग पातीहाल्नेमा आउने मौका जुर्यो,’ उनले भने, ‘हामी आउँदा सडक सजिलो भएकाले समस्या भने भएन ।’

उनले पहिलो पटक हिउँमा खेल्न पाउँदा निकै रमाइलो लागको अनुभव सुनाए । ‘बागलुङ र रुकुमको सिमानामा धेरै मान्छे घुम्न जान्छन् भन्ने सुनेको थिएँ तर यसपाली यहाँ आउने सपना पूरा भयो, त्यसमाथि हिउँसँग रमाउँदा निकै मज्जा लाग्यो,’ उनले भने । 

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि करीब ४२ किलोमिटर पश्चिममा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ । पक्की लोकमार्ग हुँदै यहाँ पुग्न करीब ४० मिनेट लाग्छ । हिमपातपछि पातीहाल्ने क्षेत्र निकै सुन्दर देखिएको रोल्पाको उवाखोलाबाट आएका महेश बुढाथोकीले बताए । आफू यसभन्दा पहिले पनि पातीहाल्ने हुँदै धेरै पटक यात्रा गरेको स्मरण गर्दै उनले हिमपातले यहाँको सुन्दरता बढाएको बताए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।