सिभिलका तामाङलाई सजाय सम्पत्ति जफत, ३ वर्ष कैद र १७२ करोड बिगो

Share News

काठमाडौं। विशेष अदालतले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका सञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद, १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबर जरीवाना र उनको परिवारसँग रहेको सम्पत्ति जफत गर्ने फैसला सुनाएको छ । 

विशेषले तामाङपत्नी सृजनालाई पनि १८ महीना कैद र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बराबर जरीवाना र सम्पत्ति जफतको फैसला सुनाएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार तामाङका मामाससुरा केशवराज श्रेष्ठलाई २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ जरीवाना र १८ महीना कैद हुने ठहर गरेको छ । केशव र उनकी पत्नीको नाममा रहेको सम्पत्ति जफत गर्नसमेत अदालतले आदेश दिएको छ । 

अदालतको फैसलाअनुसार इच्छाराजका छोरीहरू प्रतीक्षा र प्रतिष्ठाको नाममा रहेको सम्पत्ति पनि जफत हुनेछ । प्रवक्ता कार्कीले उनीहरू सबैलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०(१) (क) बमोजिम सजाय भएको बताए । 

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलाशले उनीहरूलाई माघ ७ गते दोषी ठहर गरेको थियो । सजाय आइतवार तोकिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले १६ भदौ २०७९ मा इच्छाराजसहित उनकी पत्नी सृजना, दुई छोरी, केशवराज र केशवराजकी पत्नीविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

यस्तो थियो घटना

सर्वसाधारणबाट निक्षेप उठाई सहकारीमा जम्मा भएको रकम आफ्नै समूहका अरू कम्पनीमा लगानी गरेका तामाङले साँवाब्याज नतिर्दा सिभिल सहकारी धराशयी भएको थियो । संस्थाले बचतकर्ताको रकम फिर्ता दिन नसक्ने अवस्था आएपछि विवाद भयो । सहकारीमा बचत गरेका झन्डै १४ सय जनाले बचत फिर्ता नपाएको गुनासो गर्दै आएका छन् । विभागले इच्छाराजसँग ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ, पत्नी सृजनासँग १ अर्ब ३० करोड रुपैयाँ बिगो माग दाबी गरेको थियो । मुद्दा दायर हुने बेलामा पत्नी सृजनाले तामाङसँग सम्बन्धविच्छेद गरेकी थिइन् । 

छोरीहरू प्रतीक्षाको नाममा रहेको ६ करोड ४७ लाख रुपैयाँ, घरजग्गा र शेयर तथा प्रतिष्ठाको नाममा रहेको १ अर्ब ८९ करोड रुपैयाँ, घरजग्गा र शेयर जफत हुनुपर्ने दाबी पनि विभागको थियो । केशवराजबाट २६ करोड ६१ लाख बिगो, बैंकमा बचत रहेको रकम र सवारीसाधन जफत गर्नुपर्ने माग दाबी गरेको विभागले मीनाकुमारीसँग बिगो असुली र विभिन्न ठाँउमा रहेको जग्गा जफत हुनुपर्ने दाबी लिएको थियो । इच्छाराजले ठगी गरेको उजुरी परेपछि शुरूमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) आकर्षित भएपछि विभागले अनुसन्धान थालेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।