काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २०औं वार्षिकोत्सव सम्पन्न भएको छ । सोमवार काठमाडौंमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकास, विस्तार र प्रयोगमा कम्पनीले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएकी छिन् ।
सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार भएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयनका लागि अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ नेपाल टेलिकमका कार्यक्रम लक्षित छन् ।’
नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवालाई नमूना दूरसञ्चार सेवाको रूपमा विकास गर्न यस वर्ष १९ जिल्ला छनोट गरिएको मन्त्री शर्माले जानकारी दिइन् । छनोट भएका जिल्लामा पूर्वाधार विस्तार, सेवाको पहुँच तथा गुणस्तर, मर्मत सम्भार र वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको उनले बताइन् ।
कार्यक्रममा मन्त्रालयलका सचिव एवं कम्पनीका अध्यक्ष रामकृष्ण सुवेदीले नेपाल टेलिकमले राष्ट्र र जनताका लागि पुर्याएको सेवाको सराहनीय रहेको भन्दै प्रतिस्पर्धी युगमा आफ्ना सेवा थप गुणस्तरीय र सुलभ बनाउने चुनौती रहेको बताए । उनले टेलिकमले नाफासँगै सेवालाई पनि थप गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिए । आफ्ना सेवाको विस्तारमार्फत सरकारको डिजिटल नेपालको अवधारणामा सहयोग गर्नुपर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले नेपालको दूरसञ्चार क्षेत्रको विकासमा टेलिकमको उच्च भूमिका रहेको बताए । यस्तै प्रविधिमा छिटोछिटो हुने विकाससँगै देखा परेका चुनौतीको सामना गर्न कम्पनी तयार रहिरहनुपर्नेमा जोड दिए ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले संस्थाका गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराइन् । स्थापनाको शुरुआती वर्षमा कम्पनीको ग्राहक आधार करीब ४ लाख २२ हजार रहेकोमा अहिले २ करोड १८ लाखभन्दा बढी रहेको जानकारी उनले दिइन् । ‘मुलुकका अधिकांश भूभागमा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ,’ उनले भनिन्, ‘कम्पनीले मुलुकका ७७ ओटै जिल्लामा ताररहित फोजी/एलटीई प्रविधिमा आधारित मोबाइल र डेटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधार निरन्तर बढ्दै गएको छ ।’
कम्पनीले आधारभूत टेलिफोन, ताररहित जीएसएम मोबाइल, अति दुर्गम विकट स्थानमा भीस्याट प्रविधिमा आधारित सेवा, इन्टरनेट/डेटा सेवा तथा अन्य धेरै प्रकारका सेवा उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन् । आगामी दिनमा फोरजी सेवा विस्तार र फाइभजी समेत परीक्षणपश्चात् विस्तार गर्ने कम्पनीको योजना रहेको उनले बताइन् । वार्षिकोत्सवको अवसरमा विभिन्न कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो भने टेलिकम क्षेत्रको विविध विषयलाई समेटेर प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।