काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले जर्मन कम्पनीले नेपालमा लगानी गर्ने वा नेपाली व्यवसायसँग सहकार्य गर्ने सम्भावना खोज्न बिभिएमडब्लु जर्मनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
एमओयूमा एफएनसिसिआई अध्यक्ष चन्द्रप्रसाद ढकाल र बिभिएमडब्लुका कार्यकारी अध्यक्ष क्रिस्टोफ अहलहसले आज बुधवार समझदारीपत्रमा मा हस्ताक्षर गरेका हुन ।
नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जको उपस्थित कार्यक्रममा अध्यक्ष ढकालले नेपालले युरोप निर्यातमा भन्सारमुक्त पहुँच गुमाउने भएकाले विकासोन्मुख मुलुकमा परिणतभएपछि सबैभन्दा बढी असर साना तथा मझौला उद्योगमा पर्ने बताएका थिए ।
उनले विशेषगरी महिलाद्वारा सञ्चालित साना तथा मझौला उद्योगलाई सहयोग गर्नुपर्नेमा जोड दिए। अध्यक्ष ढकालले साना तथा मझौला उद्योगको प्रवर्द्धन र विकासका लागि दुवै संस्थाले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।
एमओयूको प्रमुख उद्देश्य दुवै संस्थाबीच सहकार्य अभिवृद्धि गर्नु र लगानी प्रवर्द्धनमा सहकार्य गर्न व्यावहारिक रूपरेखा स्थापना गर्नु रहेको महासंघले जनाएको छ। एमओयूपछि सहयोगमार्फत संस्थागत सम्बन्ध सुदृढ गर्ने र क्षमता अभिवृद्धि गर्नेबारे पहल गरिनेछ।
एमओयूअनुसार दुवै संस्थाले लगानी नीति, नियम, विनियम, कार्यविधि, प्रोत्साहन र अवसरबारे नियमित जानकारी आदानप्रदान गर्नेछन्। नेपाल र जर्मनीसँग सम्बन्धित तथ्यांक अनि दुवै संस्थाको पहुँचमा पुग्ने गरी अपडेट आदान–प्रदान हुने कार्यक्रममा जानकारी दिइयो।
एमओयूअनुसार दुवै संस्थाले व्यापार प्रतिनिधिमण्डल वा लगानी मिसन आदानप्रदानका लागि प्रोत्साहन र सहयोग उपलब्ध गराउन पहल गर्नेछन्। यस्तै, दुवै संस्थाले लगानी र उद्यमशीलतासम्बन्धी संयुक्त कार्यक्रम आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।