बैंकको ब्याजदर मुद्रास्फीतिदर नजिक

Share News

काठमाडौं। वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर मुद्रास्फीति दरको नजिक पुगेको छ । निक्षेप वृद्धिअनुसार कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर लगातार घटाएकाले मुद्रास्फीति दरको नजिक पुगेको हो । 

वाणिज्य बैंकहरूले प्रकाशित गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ६ दशमलव ४४ प्रतिशतसम्म कायम भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पुसमा उपभोक्ता मुद्रास्फीतिदर ५ दशमलव २६ प्रतिशत छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर उपभोक्ता मुद्रास्फीति दर नजिक झरेपछि साधारण बचतको ब्याजदर भने त्यसभन्दा तल कायम भएको छ । 

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने प्रावधान तोकेको छ । बैंकहरूले मुद्दती निक्षेपसँगै साधारण बचतको ब्याजदर पनि घटाएका छन् । 

तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले चालू आव २०८०/८१ को साउनदेखि भद्र सहमति अन्त्य गर्दै आफूखुशी ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो । त्यसपछि घट्ने क्रममा देखिएको बैंक ब्याजदर फागुन पनि घटेको छ । 

फागुनमा १६ ओटा बैंकले ब्याजदर घटाउँदा चारओटाले भने स्थिर राखेका छन् । हिमालयन, एभरेष्ट, लक्ष्मी सन्राइज तथा माछापुच्छ्रे बैंकले माघकै ब्याजदर कायम राखेका छन् । 

फागुनमा सबैभन्दा बढी ब्याजदर एनएमबि बैंकले ८ दशमलव ५० प्रतिशत र सबैभन्दा कम कृषि विकास बैंकले ६ दशमलव ४४ प्रतिशत तोेकेको छ । बैंकर्स संघमार्फत ब्याजदर निर्धारण गर्दा गत वैशाखमा नै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशत निर्धारण गरिएको थियो । जेठ र असारमा सोही ब्याजदर कार्यान्वयन भए पनि साउनदेखि भद्र सहमति अन्त्य गरेपछि निक्षेप तान्ने होडबाजीले भदौ र असोजमा केही बैंकको ब्याजदर बढेको थियो । कात्तिकबाट भने सबै बैंकको ब्याजदर ओरालो लागिरहेको छ । 

मङ्सिरमा राष्ट्र बैंकले पनि चालू आवको मौद्रिक नीतिको समीक्षा गर्दै नीतिगत दरहरू घटाएपछि बैंकहरूलाई ब्याजदर घटाउन थप दबाब बढेको हो । सामान्यतया बैंकहरूले मासिक रूपमा मात्र ब्याजदर परिवर्तन गर्न पाउने भए पनि मङ्सिर २२ गते नै राष्ट्र बैंकले नीतिगत दर परिवर्तन गरेपछि बैंकहरूले महीनाको बीचैमा ब्याजदर घटाएका थिए । 

ब्याजदर निर्धारणसम्बन्धी राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा साबिकको ब्याजदरमा १० प्रतिशत मात्र घटबढ गर्न पाउने व्यवस्था छ । यस्तै बैंकहरूले हरेक महीना लागू हुने ब्याजदर अघिल्लो महीनाको अन्तिम दिन सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर, राष्ट्र बैंकले नीतिगत दर परिवर्तन गरेमा ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था छ । 

यसैगरी बैंकहरूले विप्रेषणमार्फत आएको निक्षेपलाई १ प्रतिशत बिन्दुले थप र संस्थागत निक्षेपकर्तालाई भने २ प्रतिशत बिन्दुले कम ब्याजदर दिनुपर्ने व्यवस्था छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।