पर्यटकले बढाए होटल तथा पर्यटन समूहको खुद नाफा, कुनले कति कमाए ?

Share News

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् । तीमध्ये पाँच कम्पनीकोे चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमाससम्मको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको छ । सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल्स, चन्द्रागिरि हिल्स लिमिटेड, ओरियण्टल होटल्स लिमिटेड र कालिञ्चोक दर्शनको खुद नाफा बढेको हो । 

सिटी होटल भने चालू आवको दोस्रो त्रैमाससम्ममा ११ करोड ७९ लाख रुपैयाँ घाटामा छ । गत आवको दोस्रो त्रैमासमा पनि सिटी होटल १३ करोड २४ लाख रुपैयाँ घाटामा थियो । अघिल्लो वर्षको तुलनामा सिटी होटलको घाटा यसपालि कम छ । 

कोरोना कम भएसँगै पर्यटक आगमन बढ्दा होटल तथा पर्यटन समूहको नाफा बढेको हो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १४ हजार ८७६ विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । यो सन् २०२२ को तुलनामा ४ लाखले बढी हो । नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीमध्ये सबैभन्दा बढी सोल्टी होटलले २६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । 

यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४ दशमलव ६४ प्रतिशतले बढी हो । सोल्टीले चालू वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत आवमा यो होटेलको आम्दानी ९६ करोड १ लाख रुपैयाँ थियो । पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दा आम्दानी बढेको होटलले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 

सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटल्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ७१ प्रतिशत बढेको छ । गत वर्ष दोस्रो त्रैमासमा १० करोड ६१ लाख नाफा कमाएको तारागाउँले यो वर्षको सोही अवधिमा नाफा १८ करोड १६ लाख रुपैयाँ पुर्याएको छ । गत साउनदेखि पुससम्ममा तारागाउँले ६३ करोड ८५ लाख आम्दानी गरेको देखिन्छ । 

यस्तै ओरियन्टल होटल्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा यसपालि ४६ दशमलव २४ प्रतिशत बढेको छ । ओरियन्टलले गत वर्ष दोस्रो त्रैमाससम्ममा ३ करोड ६५ लाख नाफा कमाएकोमा यसपालि बढाएर ५ करोड ३४ लाख रुपैयाँ पुर्याएको हो । यसले चालू वर्षको दोस्रो त्रैमाससम्ममा ५६ करोड १ लाख आम्दानी गरेको देखिन्छ ।

त्यस्तै चन्द्रागिरि हिल्स लिमिटेडको दोस्रो त्रैमाससम्मको नाफा ६ करोड २८ लाख रुपैयाँ पुगेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीको दोस्रो त्रैमाससम्मको नाफा ५ करोड १४ लाख रुपैयाँ थियो । चन्द्रागिरिले गत साउनदेखि पुससम्ममा ४५ करोड ७५ लाख आम्दानी गरेको छ । 

त्यस्तै कालिञ्चोक दर्शन लिमिटेड गत आवको दोस्रो त्रैमाससम्ममा ६० लाख ४७ हजार रुपैयाँ नाफामा रहेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६४ लाख ३४ हजार रुपैयाँ नाफामा छ । यस कम्पनीको आम्दानी बढेकाले नाफा माथि गएको हो । कालिञ्चोक दर्शनले गत साउन–पुसमा ३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।