१२ बुँदे घोषणापत्र जारी गर्दै चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

Share News

काठमाडौं । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । घोषणापत्रमा ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने उल्लेख छ । घोषणापत्रमा तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम फैलाऊँ, गरीबीलाई शून्य बनाऊँ’ अभियानलाई मूर्त रूप दिने उल्लेख छ ।

लघुवित्तमा देखिएका विकृति विसंगति अन्त्य गर्ने, सदस्य तथा संस्थाले समेटेका वर्गलाई सुसूचित गर्ने अभियान चलाउने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा सहजीकरण गर्ने घोषणापत्रमा उल्लेख छ । लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवा उद्यमी बनाउन सहयोग गर्ने भनिएको छ । वातावरणमैत्री र उद्यमशील समाज बनाउन युवा परिचालन गर्ने, वातावरण अनुकूलता प्रवर्द्धन गर्न वातावरणमैत्री गाउँ निर्माण, प्रविधिमैत्री संस्था निर्माण र निष्क्रिय सदस्यलाई सक्रिय बनाउने अभियान चलाउने घोषणापत्रमा उल्लेख छ । 

समापन समारोहमा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले देशको आर्थिक अवस्था गम्भीर रहेकोले यस्तो अवस्थामा लघुवित्त तथा सहकारी क्षेत्रको भूमिका बढेर गएको बताए । ‘लघुवित्त क्षेत्रले प्रत्यक्ष रूपमा समुदायमा रहेर काम गर्दै आएका छन्, यस क्षेत्रले वित्तीय अनुशासन पालना गर्दै सदस्यको हितमा रहेर काम गरेको अवस्थामा विपन्न नागरिकको अवस्थामा सुधार ल्याउन सहयोग पुग्छ,’ उनले भने, ‘अहिले यस क्षेत्रमा आएको विचलन रोक्न गल्ती गर्नेलाई कारबाही र राम्रो गर्नेलाई संरक्षण गर्न राज्य जवाफदेही बन्नुपर्छ ।’

उनले लघुवित्त क्षेत्रलाई राजनीतिकरण गरेर यसकै नाममा आन्दोलन गर्ने क्रम बढेकोले यस्ता प्रवृत्ति रोक्न सबै पक्ष सहज रहनुपर्ने बताए । ‘वित्तीय संस्था डुब्नु भनेको आम नागरिकको बचत डुब्नु हो, यसतर्फ सरकारको ध्यान जान जरुरी छ,’ उनले भने ।

प्रतिनिधिसभाका सांसद भगवती चौधरीले ६० लाख नेपाली गरीबीको रेखामुनि रहेको अवस्थामा झन्डै त्यत्तिकै सदस्य संख्यामा काम गर्ने लघुवित्त तथा सहकारी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताइन् । उनले गरीबी न्यूनीकरणमा लघुवित्त क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको भन्दै लघुवित्तले विपन्न नागारिकको सारथि बनेर काम गर्नुपर्ने बताइन् । लघुवित्तको अवधारणा विपन्न नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था सुधारलाई प्राथमिकता दिएकोले यस्ता संस्था लगानीकर्ताको नाफामा मात्र केन्द्रित नभई सामाजिक उत्तरदायित्व बहन गर्न सचेत हुनुपर्ने उनको सुझाव थियो । ‘अहिले लघुवित्त क्षेत्रमा जुन समस्या देखिएको छ, त्यसको कारण लघुवित्त क्षेत्र विपन्नको हित र सामाजिक उत्तरदायित्वबाट बाहिर आउन खोज्दा आएको हो,’ उनले भनिन् । 

लघुवित्तको संख्या आवश्यकताभन्दा बढी हुनु, अधिक कर्जा प्रवाह हुनु, कर्जा लगेका सदस्यले कर्जा फिर्ताको दायित्व नसम्झनु लगायत समस्या अहिले देखिएको उनको भनाइ थियो । ‘त्यसमाथि लघुवित्त क्षेत्रमा अधिक बेथिति देखिए, यस क्षेत्रलाई मिटरब्याजीको रूपमा हेर्न थालिएको छ, यसको कारण के हो, खोजिनुपर्छ,’ उनले भनिन्, ‘कतिपय कानूनी प्रक्रिया नै कमजोर छन् । राष्ट्र बैंक आफैले नियमन गर्न सकेको छैन, सरकारले नियन्त्रण गर्न सकेको छैन ।’ उनले खराब आचरण भएका वित्तीय संस्थालाई कारबाही गर्नुपर्नेमा समग्र वित्तीय क्षेत्रको अवस्था एउटै भएको दुष्प्रचार गर्ने अभियानै चलाइएको भन्दै यस्ता पक्षलाई सरकारले कारबाही गर्नुपर्ने बताइन् । 

कार्यक्रममा इनरुवा नगरपालिकाका उपप्रमुख विनिता मेहताले लघुवित्तले महिलाको आर्थिक हैसियतदेखि नेतृत्व विकास समेतमा सहयोग गर्ने बताइन् । आफू २०६२ सालदेखि लघुवित्तको अभियानमा लागेको र आफू जोडिएको संस्थाले उत्कृष्ट काम गर्दै आएको उनको दाबी छ । ‘विशेष गरी महिलालाई लघुवित्तले गर्दै आएको सहयोग महत्त्वपूर्ण छ । मैले आज जुन उचाइ हासिल गरेको छु, त्यसमा पनि लघुवित्तको भूमिका छ ।’

समापन कार्यक्रमका सभापति तथा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले सम्मेलनमा लघुवित्त तथा सहकारी क्षेत्रका समस्याका विषयमा गम्भीर समीक्षा भएको र घोषणापत्रमा उल्लेख गरिएका कुरालाई समुदाय स्तरमा गएर लागू गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

सम्मेलनको दोस्रो दिन लघुवित्तमा देखिएका समस्याको पहिचान र त्यसको समाधानका विषयमा विषयगत छलफल समेत भएको थियो । 

समापन कार्यक्रममा उत्कृष्ट लघुवित्तकर्मी तथा लघुवित्त संस्थालाई पुरस्कृत गरिएको छ । यस वर्षको संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट भएर जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पुरस्कृत भएको छ । जीवन विकासले १ लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।

त्यस्तै ३ शून्य क्लब प्रवर्द्धन गर्ने विभिन्न क्लब, कर्मचारी तथा संस्थालाई पनि पुरस्कृत गरिएको छ । सो अवसरमा ‘घरघरमा उद्यमशीलता विकास’ अभियानमा उत्कृष्ट भूमिका निर्वाह गर्ने संस्था तथा कर्मचारी, अति विपन्नको उत्थानमा सहयोग गर्ने कर्मचारी तथा संस्था, उत्कृष्ट केन्द्र प्रमुखलाई सम्मान गरिएको थियो ।

दुई दिन चलेको सम्मेलनमा ८०० महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो । सम्मेलन हरेक दुई–दुई वर्षमा हुँदै आएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।