एकै दिन राष्ट्र बैंकमा बैंकहरूको खर्ब नजिक निक्षेप

Share News

काठमाडौं  । बैंक तथा वित्तीय संस्थाले एकै दिन झन्डै १ खर्ब रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरूले स्थायी निक्षेप सुविधाअन्तर्गत आइतवार उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् । 

राष्ट्र बैंकले ब्याजदर कोरिडोर कार्यान्वयन प्रभावकारी बनाउन फागुनदेखि बैैंक, वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता केन्द्रीय बैंकमा निक्षेपका रूपमा राख्न पाउने गरी स्थायी निक्षेप सुविधा शुरू गरेको थियो । उक्त सुविधाअन्तर्गत आइतवार मात्र बैंकहरूको ९६ अर्ब १५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा जम्मा भएको छ । यो सुविधा शुरू भएपछि हालसम्मकै उच्च निक्षेप राष्ट्र बैंकमा जम्मा भएको हो । हालसम्म चारपटक गरी बैंकहरूले २ खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा लिइसकेका छन् । 

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि ठूलो रकम केन्द्रीय बैंकमा थुप्रिन थालेको राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘स्थायी निक्षेप सुविधाका नाममा ठूलो रकम केन्द्रीय बैंकमा होल्ड हुन थालेको छ,’ उनले भने, ‘बैंकहरूले कर्जा बढाउने जोखिम लिन चाहेको देखिँदैन ।’

खुला बजार कारोबारसम्बन्धी विनियमावली तथा कार्यविधिमा बैंकहरूलाई हरेक आइतवार र बुधवार गरी हप्तामा २ दिन स्थायी निक्षेप सुविधा उपलब्ध गराउने प्रावधान छ । चार दिनका लागि उपलब्ध यस उपकरणमा बैंकहरूले राख्ने निक्षेपको ब्याजदर  ३ प्रतिशत छ । 

स्थायी निक्षेप सुविधा लिन राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपातको न्यूनतम ५० प्रतिशतसम्म पूँजीकोष अनुपात कायम भएको, राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा वा अन्य कारबाही नभएको हुनुपर्ने योग्यता तोकिएको छ । योग्यता पुगेका बैंकहरूले न्यूनतम २० करोड रुपैयाँभन्दा बढी निक्षेप राख्न आवेदन दिन सक्छन् । यसभन्दा बढी रकम राख्दा ५ करोडले भाग गर्दा नि:शेष अंक हुनुपर्ने प्रावधान छ । यस उपकरणबाट राखेको रकमलाई अनिवार्य नगद (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था छ । 

स्थायी निक्षेप सुविधा अन्तरबैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो ३० दिनको दैनिक कर्जा निक्षेप अनुपात र खुद तरल सम्पत्ति तोकिएको सीमाभित्र रहेको र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको स्वघोषणापछि उपलब्ध हुने प्रावधान छ । बैंकहरूले गलत स्वघोषणा तथा विवरण पेश गरी सुविधा लिएको पाइएमा भुक्तान भएको ब्याज असुल गरी बैंकदरमा हर्जाना लगाइने राष्ट्र बैंकले बताएको छ । 

चालू आर्थिक वर्ष (आव) मा बैंक, वित्तीय संस्थामा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन बढी भएपछि अधिक तरलता देखिँदै आएको छ । वित्तीय प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न चालू आवको मङ्सिर पहिलो सातादेखि निक्षेप संकलन उपकरण जारी गर्न थालेको केन्द्रीय बैंकले माघ अन्तिमसम्ममा साढे ५ खर्ब उठाएको थियो । तर, कोरिडोरअनुसार अल्पकालीन ब्याजदर कायम गर्न नसकेपछि राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणाअनुसार फागुनदेखि स्थायी निक्षेप सुविधा शुरू गरेको हो । उक्त सुविधा शुरू भएपछि अल्पकालीन ब्याजदर भने कोरिडोरको तल्लो सीमाभित्र कायम भएको छ । 

‘ब्याजदर करिडोरसम्बन्धी कार्यविधि–२०७६’ अनुसार कोरिडोरको माथिल्लो सीमा बैंकदर र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर तोक्दै अन्तरबैंक ब्याजदर यही बीचमा राख्ने व्यवस्था छ । यसका लागि राष्ट्र बैंकले तरलता प्रवाह र प्रशोचन गर्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्ने प्रावधान छ ।

राष्ट्र बैंकका अनुसार गत बिहीवारसम्ममा बैंकहरूले ६१ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आवमा बैंकहरूको निक्षेप ३ खर्ब ९६ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा भने २ खर्ब ८ अर्ब रुपैयाँले मात्र बढेको छ । बिहीवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव शून्य ४ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने प्रावधानअनुसार अझै ६ खर्बभन्दा बढी कर्जा दिन सक्ने क्षमता छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।