तीन सातामै करीब साढे ४ खर्ब निक्षेप सुविधा प्रयोग

Share News

काठमाडौं। बैंक, वित्तीय संस्थाहरूले तीन सातामै करीब ४ खर्ब रुपैयाँ स्थायी निक्षेप सुविधा लिएका छन् । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा अधिक तरलता व्यवस्थापनका लागि स्थायी निक्षेप सुुविधाको प्रयोग बढेको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार आइतवारसम्ममा बैंकहरूले ४ खर्ब २१ अर्ब रुपैयाँ स्थायी निक्षेप सुविधा लिएका छन् । त्यसमध्ये १ खर्ब ६६ अर्ब करोड रुपैयाँ अझै राष्ट्र बैंकमा छ । आइतवार एकै दिन बैंकहरूले १ खर्ब २३ अर्ब ८० करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका थिए । 

राष्ट्र बैंकले फागुन २ गतेदेखि कार्यान्ययनमा ल्याएको स्थायी निक्षेप सुविधाअन्तर्गत बैंकहरूले आफूसँग भएको अधिक तरलता निक्षेपका रुपमा राष्ट्र बैंकमा राख्न पाउँछन् । हरेक आइतवार र बुधवार गरी साताको २ दिन निक्षेप राख्न पाउने यस उपकरणमा लगानी गर्दा बैंकहरूले ३ प्रतिशत ब्याजदर पाउँछन् । स्थायी निक्षेप सुविधाको प्रयोग बढेसँगै औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशतमाथि कायम भएको छ । 

‘ब्याजदर करिडोरसम्बन्धी कार्यविधि–२०७६’ अनुसार कोरिडोरको माथिल्लो सीमा बैंकदर र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर तोक्दै अन्तरबैंक ब्याजदर यही बीचमा राख्ने व्यवस्था छ । यसका लागि राष्ट्र बैंकले तरलता प्रवाह र प्रशोचन गर्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्ने प्रावधान छ । ब्याजदर कोरिडोर प्रभावकारी बनाउन भन्दै चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिको घोषणाअनुसार स्थायी निक्षेप सुविधा प्रयोगमा  ल्याएको हो । 

चालू आवमा बैंकहरूको निक्षेप ३ खर्ब ९७ अर्ब रुपैयाँले बढ्दा कर्जा २ खर्ब ८ अर्ब रुपैयाँले मात्र बढेको छ । शुक्रवारसम्ममा बैंकहरूले ६१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । शुक्रवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव शून्य ४ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने प्रावधानअनुसार उनीहरूसँग अझै ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन सक्ने क्षमता छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।