सुरक्षा चिन्ताबाट छुटकारा

Share News

‘पहिले सानोभन्दा सानो समस्या पर्दा पनि टोलछिमेकका मानिस सहयोगका लागि तत्कालै उपस्थित हुन्थे,’ पाटन निवासी न्हुच्छेप्रसाद जोशीले भने, ‘बोलाउनुपर्दैन थियो, स्वतःस्फूर्त रूपमा उपस्थित हुन्थे ।’ करीब १ दशकअघिको आफ्नो अनुभव सुनाउँदै थिए उनी । तर, अहिले भने समय निकै परिवर्तन भइसकेको छ । नामै लिएर गुहार्दासमेत मानिस सहयोग गर्नबाट हच्किन्छन् । ‘फुर्सद पनि कहाँ छ र अर्काको कुरा सुन्ने,’ इमाडोल नयाँबस्तीका राजमान श्रेष्ठले निराश हुँदै भने, ‘अहिलेका मानिस स्वार्थी भइसकेका छन् ।’ वास्तवमै टोलभरका मानिस त के, पल्लो घरको परिवारमा कति सदस्य छन् भन्नेसमेत थाहा हुन्न आजका मानिसलाई । यस्तो परिस्थितिमा घरमै रहँदा पनि आफ्नो सुरक्षाको प्रत्याभूति हुन गाह्रो छ । यो निकै चिन्ताको विषय हो । तर, अब भने यस्तो चिन्ता लिनुपर्ने दिन सकिएको देखिन्छ । किनकि, प्रविधिमा आएको परिवर्तनले मानिसको अनुपस्थितिमा पनि घरको सुरक्षार्थ आवश्यक उपकरणको समेत विकास सम्भव भएको छ, जसले सजिलैसँग तपाईंको घर तथा परिवारका सदस्यलाई सुरक्षा प्रदान गर्दछ । घरपरिवारको सुरक्षार्थ विकसित केही नौला प्रविधिबारे यहाँ चर्चा गरिएको छ :


प्रेशर डोरम्याट


घरको प्रवेशद्वार तथा अन्य स्थानमा राखिएका डोरम्याटबाट विशेष अपेक्षा के नै गर्न सकिन्छ र ? तर, नौलो प्रविधिसहित निर्माण गरिएका डोरम्याटको विशेषता भने बेग्लै छ । साधारण म्याटझैं देखिने यी डोरम्याटमा कसैले कदम राखेमा यसले तपाईंलाई मोबाइलमार्फत सन्देश पठाई सजग बनाउँछ । अहिले यसलाई एक किसिमको स्मार्टम्याट पनि भन्न थालिएको छ । आफ्नो घरलाई अतिरिक्त सुरक्षित बनाउन चाहनेका लागि यो डोरम्याट अत्यन्त उपयोगी हुन सक्छ । साथै, घर लक गर्न भुल्ने बानी भएकाहरूलाई पनि यो सहयोगी हुने देखिन्छ ।
 
बार्किङ डग अलार्म


घरको भित्ता, झ्याल तथा ढोकामा प्रयोग गर्न सकिने यो एक प्रकारको अलार्म हो । यसलाई प्रविधिको संसारमा ‘इलेक्ट्रोनिक (विद्युतीय) वाच डग’को उपनामसमेत दिइएको छ । यदि कुनै अपरिचित वा नचाहेका व्यक्ति तपाईंको घरमा प्रवेश गर्ने प्रयास गर्छ भने यसको सेन्सरले यस त्यसबारे सजिलै चाल पाउँछ । र, यो अलार्मले कुनै डरलाग्दो कुकुरले भुकेको आवाज निकाल्न शुरू गर्छ । यसको आवाजमा अपनाइएको उत्कृष्ट प्रविधिका कारण यो आवाज सुन्दा साँच्चैको कुकुर भुकेको आभाष हुन्छ, जसले चोरलगायत अन्य अनावश्यक व्यक्तिमा एक प्रकारको डर उत्पन्न  हुन्छ र उनीहरू घरमा प्रवेश गर्न हच्किन्छन् । उपकरणको आवाज आफ्नो आवश्यकता तथा चाहनाअनुरूप निर्धारणसमेत गर्ने सुविधा यसमा उपलब्ध छ । यसले चौबीसै घण्टा तपाईंको घरलाई सुरक्षा प्रदान गर्न सक्छ ।
 
डोरफोन


यस फोनको सहायताबाट ढोका नखोलीकन नै तपाईंको घरबाहिर को आएको छ भन्ने जानकारी लिन सकिन्छ । साथै, यसमा उपलब्ध गरिएको क्यामेराको सहायताले घरबाहिरको गतिविधिबारे सहज रूपमा जानकारी प्राप्त गर्न सकिन्छ । यो उपकरणले घरभित्र रहने मोनिटरमा भिडियो तथा अडियोका साथ ढोकामा उपस्थित व्यक्ति आएको समय र मिति टिप्ने गर्दछ । तपाईं ढोका खोल्न चाहनुहुन्न भने घरभित्रैको स्पिकरको माध्यमबाट तिनलाई आफ्नो सन्देश दिन सक्नुहुन्छ ।
 
सीसीटीभी क्यामेरा


घर, अफिस, सडक तथा बजारमा समेत अहिले सीसीटीभीको व्यापक प्रयोग भइरहेको छ । अहिले घरको सुरक्षाका लागि यसको प्रयोगले निकै लोकप्रियतासमेत पाउँदै गएको छ । यसको माध्यमबाट हामी घरभित्र तथा बाहिर के हुँदै छ भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सक्छौं । साथै, तिनलाई रेकर्ड गर्ने सुविधासमेत यसमा उपलब्ध छ । यसको सहायताले घरको कुनै कुनामा बसी समग्र घरको अवस्थाबारे तपाईं सजिलै जानकारी लिन सक्नुहुन्छ । साथै, तपाईंको अनुपस्थितिमा घरमा कुनै घटना भएमा तिनलाई रेकर्डिङको माध्यमबाट कुनै पनि समयमा हेर्न तथा जानकारीसमेत लिन सक्नुहुन्छ । यसलाई तपाईं आफ्नो कम्प्युटर वा टीभीमा सजिलै जडान गर्न सक्नुहुन्छ ।

साइरनसहितका ताला

साधारणजस्तो देखिने यो तालामा साइरनको व्यवस्था गरिएको छ । कसैले ताला चलाउने, फुटाउने वा अनधिकृत रूपमा खोल्ने प्रयास गरेमा यसको अलार्म वा साइरन बेस्सरी बज्न थाल्छ । यो तालाले १ सय डेसिबलसम्मको आवाज निकाल्ने क्षमता राख्दछ, जसले गर्दा निकै टाढासम्म पनि यसको आवाज सुन्न सकिन्छ । यो तालाको बडी जिङ्क, स्टीललगायत धातुको प्रयोग गरी बनाइएको हुन्छ, जसका कारण यसलाई बिगार्न निकै कठिन पर्छ । यसको प्रयोग तपाईं घरको कुनै पनि ढोकामा गर्न सक्नुहुन्छ ।
 
नाइट भिजनसहितका वाईफाई क्यामेरा


घरमा भइरहेका गतिविधि रेकर्ड गर्ने क्यामेरा साधारण भइसकेको छ । यो नयाँ क्यामेराको माध्यमबाट तपाईं आफ्नो घर भन्दा हजारौं टाढा रहँदा समेत पनि घरसँगै प्रत्यक्ष जोडिएर रहन सक्नुहुन्छ । यसका लागि क्यामेरामा इण्टरनेटसँग सम्पर्क कायम गर्ने प्रविधिको प्रयोग गरिएको छ । वाईफाईको सहायताले तारविना नै इण्टरनेट माध्यमबाट यो तपाईंको फोनसँग समेत कनेक्ट हुन सक्छ । साथै, यसमा प्रयोग गरिएको नाइट भिजन क्यामेराको मद्दतले अँध्यारो अवस्थामा समेत सम्बन्धित ठाउँका गतिविधि स्पष्ट रूपमा हेर्न सकिन्छ ।

डोर ज्यामर

गोपनीयता रुचाउने मानिसका लागि यो निकै उपयुक्त उपकरण सावित हुन सक्छ । यसले घरमा अनावश्यक मानिसको प्रवेश हुनबाट छुटकारा दिन्छ । हाल यसलाई ‘पोर्टेबल’ उपकरणका रूपमा सार्वजनिक गरिएको छ, जसका कारण यसलाई सहजै आफ्नो साथमा लैजान तथा प्रयोग गर्न सकिन्छ । ढोकाको तल्लो भागमा यसको प्रयोग गर्न सकिन्छ । यसलाई लगाएपछि कसैले जतिसुकै प्रयास गर्दा पनि ढोका खोल्न कठिन हुन्छ । यसको कार्य अहिले साधारण रूपमा बजारमा उपलब्ध ‘डोर स्टपर’सँग मिल्दोजुल्दो छ । अधिकांश ढोकामा सजिलै फिट गर्न सकियोस् भनी यसको निर्माण गरिएको छ ।
 
साँचोरहित ढोका


यो प्रविधिले चोरहरूलाई समेत चकित पार्ने गरेको छ । साँचोरहित ढोका (कीलेश इण्ट्री) अहिले बजारका विशेष ताला तथा ढोका बेच्ने पसलहरूमा सजिलै पाउन सकिन्छ । आफ्नो ढोकामा यसको प्रयोग गर्न चाहने खरीदकर्तालाई यसका साथ विशेष ‘कोड’ उपलब्ध गराइन्छ भने यसै कोडको सहायताले मात्र ढोका खोल्न सकिन्छ । थप अतिरिक्त खर्च गर्ने क्षमता तथा चाहना भएका ग्राहकले अझ अत्याधुनिक प्रविधिसहितको ढोकासमेत खरीद गर्न सक्छन्, जुन तपाईंको फिङ्गर प्रिण्टको सहायताले मात्र खोल्न सकिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।