काठमाडौं। मिलेनियम च्यालेन्च एकाउन्ट नेपाल (एमसीए–नेपाल) सञ्चालक समितिको ४०औं बैठकले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किलोमीटर लामो प्रसारण लाइन सञ्जालबाट १८ किलोमीटर लामो बुटवल–गोरखपुर खण्डलाई छुट्ट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ । एमसीए–नेपाल अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट प्राप्त अनुदानअन्तर्गतका परियोजना कार्यान्वयन गर्ने निकाय हो ।
सीमापार खण्डको कामलाई तीव्रता दिँदा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौताअन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ ।
सञ्चालक समिति बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नवीनराज सिंहले भने, ‘नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्त्वलाई दृष्टिगत गर्दै एमसीए–नेपाल सञ्चालक समितिले उक्त ठहर गरेको हो । यस खण्डलाई बृहत् प्रसारण लाइन सञ्जालबाट छुट्ट्याउँदा खरीद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्न यसको निर्माण २०८३ जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्नेछ ।’ यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्त्वपूर्ण अंश हो र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नेछ । नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचना सम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ असोजमा सहमति भएको थियो ।
बाँकी २९७ किलोमीटर प्रसारण लाइनका सन्दर्भमा निर्धारित समयावधिभित्रै उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गर्न डिजाइन–बिल्ड निर्माण कम्पनीहरूको सेवा खरीदका लागि एमसीए–नेपालले काम अगाडि बढाइरहेको छ । प्रसारण लाइनहरू समयमै, बजेटभित्रै र नेपाल सरकार एवं एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्डअनुसार निर्माण हुने सुनिश्चित गर्न एमसीए–नेपाल प्रतिबद्ध रहेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।