काठमाडौं । नेपाल धितोपत्र बोर्डले कात्तिक २१ गतेदेखि लागू हुने गरी सामूहिक लगानी कोषहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा प्राप्त गरेको ५ प्रतिशत आरक्षित शेयर ६ महीनासम्म विक्री गर्न नपाउने व्यवस्था गरेको थियो । त्यस्तै सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लक–इनमा राख्नुपर्ने व्यवस्था छ ।
सोहीअनुसार चार कम्पनीले म्युचुअल फन्ड, संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरेको शेयरको लकइन अवधि १ महीनाभित्र सकिने भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, सिंगटी हाइड्रो इनर्जी, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र हाथवे इन्भेस्टमेन्ट नेपालको २ करोड ६३ लाख ६३ हजार ८५५ कित्ता शेयरको लकइन १ महीनाभित्र सकिने भएको हो ।
यी तीन कम्पनीमध्ये सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ करोड ४२ लाख ६६ हजार ३२४ कित्ता शेयरको लकइन अवधि चैत २० गते सकिन्छ । साविक ज्योति लाइफ इन्स्योरेन्सले संस्थापक, संस्थापकबाट सर्वसाधारणमा परिणत भएको र कर्मचारीलाई बाँडफाँट भएको शेयरको लकइन अवधि चैत २० गते सकिने जानकारी दिएको छ । लकइन अवधि सकिएसँगै संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
साविकका ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स मर्ज भएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भइरहेको छ । साविकको ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ बाँडफाँट गरेपछि संस्थापक र कर्मचारीको शेयर लकइनमा छ । हाल यसको १ करोड ४२ लाख ६६ हजार ३२३ दशमलव ५० कित्ता शेयर लकइनमा छ । यसमध्ये संस्थापक शेयरधनीको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता र कर्मचारीको २ लाख ९९ हजार २९३ दशमलव ५० कित्ता शेयर छ । यस्तै संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता शेयर पनि लकइनमा छ ।
त्यस्तै सिंगटी हाइड्रो इनर्जी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको लकइन अवधि चैत २६ गते सकिँदै छ । कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापकको, १४ लाख ५० हजार कित्ता स्थानीयको र ५८ हजार कर्मचारीको गरी कुल १ करोड १६ लाख ५८ हजार कित्ता लकइनमा छ । लकइन अवधिपछि स्थानीय, कर्मचारी र संस्थापकहरूले उक्त शेयर धितोपत्रको दोस्रो बजारमा विक्री गर्न सक्छन् ।
त्यस्तै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्ट्याएको साधारण शेयरको लकइन अवधि चैत २३ गते सकिने जानकारी दिएको छ । सोनापुरको ४ लाख २ हजार १९ कित्ता शेयर सामूहिक लगानी कोषले होल्ड गरेका छन् । यो शेयर चैत २३ गतेपछि दोस्रो बजारमा कारोबार गर्न सकिन्छ ।
हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको ३६ हजार ५१२ कित्ता शेयरको लकइन चैत १ गते सकिन्छ । सामूहिक लगानी कोषको स्वामित्वमा रहेको उक्त शेयर चैत १ गतेपछि कारोबारयोग्य हुनेछ । यसअनुसार लकइन अवधि सकिएपछि यी कम्पनीहरूको शेयर दोस्रो बजारमा कारोबारयोग्य हुनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।