नयाँ दिल्ली (भारत) । भारत र युरोपका चार देशबीच गत आइतवार १ खर्ब डलरको स्वतन्त्र व्यापार सम्झौता भएको छ । भारत र युरोपियन स्वतन्त्र व्यापार संगठन (ईएफटीए)मा आवद्ध स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड र लिनसेस्टाइनबीच उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार भारतले यी देशहरूबाट आयात गर्ने अधिकांश वस्तुमा कर मिनाहा गर्नेछ । त्यसको बदलामा यी देशहरूले भारतमा फर्मास्युटिकल्स, मेसिनरी, म्यानुफ्याक्चरिङलगायत उद्योगमा लगानी गर्नेछन् ।
त्यहाँका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले उक्त सम्झौताबारे सामाजिक सञ्जाल ‘एक्स’मा लेखेको पोस्ट अनुसार यी देशले भारतमा १ खर्ब डलर लगानी गर्ने पुष्टि गरेका छन् । यसबाट आगामी १५ वर्षमा १० लाख रोजगारी सिर्जना हुने बताइएको छ ।
सम्झौतापछि प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको विज्ञप्तिमा यो कदमले देशमा रोजगारी सिर्जना गर्ने बताएका छन् ।
उक्त सम्झौता गर्न सन् २००८ मा कुराकानी शुरु भए पनि १६ वर्षपछि मात्रै पूर्णता पाएको हो । त्यसयता २१ पटक यसबारे छलफल भएको बताइएको छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।