मस्को (रुस) । रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आज (मार्च १५)बाट मतदान शुरु भएको छ । मतदान तीन दिनसम्म हुनेछ ।
राष्ट्रपति पदको निर्वाचनमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनसहित चार उम्मेदवार प्रतिस्पर्धामा छन् । राष्ट्रपतिको अन्य उम्मेदवारहरूमा कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेसनका निकोलाई खारितोनोभ, लिबरल डेमोक्र्याटिक पार्टी अफ रसियाका लिओ–निद स्लुतस्की र न्यू पिपुल पोलिटिकल पार्टीका भ्लादिस्लाभ दाभान्कोभ छन् । पुटिन भने स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उत्रिएका छन् ।
राष्ट्रपतीय निर्वाचनमा १ लाख मतदान केन्द्र रहेको र करीब ११ करोड ४२ लाख मतदाता रहेको बताइएको छ ।
चुनाव जित्नका लागि उम्मेदवारले खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्नेछ । तर, कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा पुनः दोस्रो चरणको मतदान हुनेछ ।
यो पटकको निर्वाचनमा अन्य प्रतिस्पर्धीको खासै प्रभाव नरहेकाले पुटिनले नयाँ कार्यकालका लागि चुनाव जित्ने आँकलन गरिएको छ । यसो भएमा पुटिन पाँचौं कार्यकालका लागि निर्वाचित हुनेछन् । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।