विराटनगर। विराट गोल्डकप चैत १५ देखि २४ गतेसम्म विराटनगरस्थित शहीद रंगशालामा हुने भएको छ ।
विराट गोल्डकप ट्रस्टले आयोजना गरेको पत्रकार सम्मेलनमा महेन्द्र गोल्डकप हुँदै विराट गोल्डकपसम्म आइपुग्दा धेरै नै आरोह अवरोह पार गरेको भन्दै मेयर नागेश कोइरालाले गोल्डकप असफल हुँदा विराटनगर नै असफल हुने तर्क गरे । विराटनगरको नामसित जोडिएको प्रतियोगितालाई भव्यरूपमा सफल बनाउने दायित्व सबैको भएको र विराट गोल्डकप विराटनगरको गौरव पनि भएकाले यसलाई सफल बनाउने दायित्व हामी सबैको भएको उनले बताए ।
विराट गोल्डकप यही चैत १५ देखि २४ गतेसम्म शहीद रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा भुटान, भारत र नेपालका १० ओटा टीमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष किशोर शाहीले जानकारी दिए । प्रतियोगिता दिन र रातमा हुनेछ । प्रतियोगिताको पुरस्कार राशि भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गतवर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएकोमा यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । आर्थिक मन्दी र गतवर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको आयोजकको भनाइ छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्रको नामबाट शुरू गोल्डकप २०६८ सालबाट विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ । गतवर्ष विराटनगर फुटबल क्लब प्रतियोगिताको विजेता र भारत, केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।