८ महीनामा ८७० ठाउँमा आगलागी २१ को मृत्यु, १५ करोडको क्षति

Share News

विराटनगर । कोशी प्रदेशमा साउनयता ८ सय ७० स्थानमा आगलागीका घटना भएका छन् । यी घटनामा २१ जनाको ज्यान गएको १६० घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । १५ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । कोशी प्रदेशमा १४ जिल्ला छन् । 

प्रदेश प्रहरी कार्यालयका अनुसार फागुन अन्तिम साता र चैतको ५ दिनमा प्रदेशका २६६ स्थानमा आगलागी हुँदा तीन जनाको मृत्यु र १६० घर जलेर नष्ट भएका छन् । ८ महीनामा आगलागीबाट ९७ जना घाइते भएका छन् । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुनील दाहालका अनुसार प्रदेशमा सुक्खा याम शुरू भएपछि दैनिकजसो आगलागीका घटना भइरहेका छन् । 

आगलागीको मुख्य कारण असावधानी, विद्युत् सर्ट र पहाडी क्षेत्रमा मानिसले नै घाँसपात तथा निगुरो राम्रोसँग उमार्न डढेलो लगाउनु हो । त्यही डढेलो बस्तीमा पुगेर विनाश गरेको पाइएको डीएसपी दाहालले बताए । प्रहरीका अनुसार चालू आर्थिक वर्षमा मोरङका २०३ स्थानमा आगलागी हुँदा ८ जनाले ज्यान गुमाएका छन् भने २४ जना घाइते भएका छन् । 

भोजपुरका ३० स्थानमा आगलागी हुँदा चार जनाले ज्यान गुमाएका छन् । झापामा १३८ स्थानमा आगलागी हुँदा तीन जनाले ज्यान गुमाउनुका साथै दुई जना घाइते भएका छन् । ओखलढुंगामा ३७ स्थानमा आगो लाग्दा एक जनाले, पाँचथरमा २१ स्थानमा आगलागी हुँदा दुई जनाले, सोलुखम्बुका ५१ स्थानमा आगलागी हुँदा दुई जनाले र ताप्लेजुङका ३० स्थानमा आगलागी हुँदा एक जनाले ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार धनुकाटामा ३१, इलाममा ३३, खोटाङमा ४०, तेह्रथुममा ३७, उदयपुरमा ४६ र सुनसरीका १ सय ४१ स्थानमा आगलागीका घटना भएका छन् । धनकुटामा १, झापामा २, मोरङमा २४, ओखलढुंगामा १, संखुवासभामा ४, सुनसरीमा ५३ जना आगोले पोलेर घाइते भएको प्रहरीको तथ्यांक छ । गत शनिवार भोजपुरको हतुवागढी–७, पिप्लेमा आगलागी हुँदा एकै घरका तीन बालबालिकाको जलेर मृत्यु भयो । त्यसै दिन भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर र १० गोठ खरानी भएको प्रहरीको तथ्यांक छ ।

शनिवार नै मोरङको रंगेली नगरपालिका–३, बाबुसाहेब टोलको सन्थाल बस्तीमा बिजुलीको लठ्ठाबाट निस्किएको आगोले बस्तीका सबै २२ घर सखाप हुँदा ११८ जनाको त्रिपालमुनि वास भएको छ ।

गत शनिवार र आइतवार सबैभन्दा बढी स्थानमा आगलागी भएको प्रहरीको विवरण छ । शनिवार सोलुखुम्बुमा ११, तेह्रथुममा ५, ओखलढुंगामा १, पाँचथरमा ३, इलाममा ३, खोटाङमा २, भोजपुरमा ३, उदयपुरमा ३ र मोरङमा ३ स्थानमा आगलागीका घटना भए । त्यसैगरी आइतवार संखुवासभामा २, खोटाङमा ३, ओखलढुंगामा १, सुनसरीमा ३, तेह्रथुममा ३, मोरङमा १, उदयपुरमा २, धनकुटामा २ र सोलुखुम्बुमा १ आगलागीका घटना भएका थिए ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।