चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम सुस्त : ११ किलोमीटर तार तान्नै साढे ६ वर्ष

Share News

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको २८ किलोमिटरमध्ये ११ किलोमीटर तार तान्न साढे ६ वर्ष लागेको छ । जर्मनी तथा यूरापेली संघको टोलीले निर्माणाधीन उक्त आयोजनाको स्थलगत अनुगमन गर्दा काममा ढिलाइ भएको पाइएको हो ।

त्रिशूली नदी कोरिडोरअन्तर्गत पर्ने यस आयोजनाको काम भौगोलिक जटिलताका कारण लक्षित समयभन्दा निकै ढिलो भएको बताइएको छ । यो आयोजना चिनियाँ कम्पनी पिङगाओ ग्रूप अफ कम्पनिजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भई सोही वर्ष पुसमा कार्यान्वयनमा आएको थियो ।

जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयका एशिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा युरोपेली संघ, जर्मन विकास बैंक (केएफडब्ल्यू)का प्रतिनिधि सम्मिलित टोलीले शनिवार आयोजनाअन्तर्गत निर्माणाधीन प्रसारण लाइन र सबस्टेशनको अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको हो ।

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंशीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेशन निर्माण अन्तिम चरणमा छन् । साथै चिलिमे हबदेखि त्रिशूली थ्री बी हब सबस्टेशनसम्म २८ किलोमीटर २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेशन निर्माण गरिएको हो ।

अनुमानित लागत ३ करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्ल्यू) को अनुदान छ । आयोजनामा यूरोपेली संघले स्थापना गरेको यूरोपेली लगानी बैंक (ईआईबी) को सहुलियतपूर्ण ऋण छ । त्रिशूली थ्री बी हब सबस्टेशन र प्रसारण लाइन निर्माणको अनुगमन गरी टोलीले नेपाल विद्युत् प्राधिकरण र आयोजना व्यवस्थापनसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मिति, ऊर्जाक्षेत्रमा थप लगानीको सम्भावनालगायत विषयमा छलफल गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशन र प्रसारण लाइन आगामी वैशाखको दोस्रो हप्ताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका काम भइरहेको टोलीलाई जानकारी गराए । भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा, गिट्टी, बालुवा, टावरका सामान, पानी, मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वनक्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायत कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ ।

‘निर्माणमा केही ढिलाइ भएकोमा लगानीकर्ताबाट विगतमा बारम्बार चासो र चिन्ता व्यक्त भइरहेको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुशी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

यो प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मीटरसम्मको भूभागमा निर्माण गरिएको छ । ३३ ओटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न तथा कामदार थपेर कामलाई तीव्रता दिन निर्देशन दिँदै कार्यकारी निर्देशक घिसिङले पछिल्लोपटक निर्माण सम्पन्न गर्न तय गरिएको समयसीमाबाट कोही पनि उम्किन नपाउने बताए ।

‘आयोजना निर्माण सम्पन्न हुने समयसीमामा दातृ निकायको पनि ठूलो चासो र चिन्ता छ, यही लाइनमा जोडिने ११० मेगावाटको रसुवागढी जलविद्युत् आयोजना तयारी अवस्थामा छ, लाइन बनाउन सकेनौं भने विद्युत् खेर फाल्नुपर्ने अवस्था छ,’ घिसिङले भने, ‘यो या त्यो बहाना बनाएर अब कोही उम्किन पाउँदैन, सबै जिम्मेवार भएर अन्तिम प्रयास गरौं, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्नेछौं ।’ टोली प्रमुख गिजेला ह्याममरस्मिटले जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा पर्ने आयोजना निर्माण सम्पन्न हुने चरणमा पुग्नु ज्यादै खुशीको कुरा भएको बताइन् । नेपालको ऊर्जा क्षेत्रको विकासमा थप अनुदान दिन तयार रहेको प्रतिबद्धता जनाउँदै उनले लगानी आवश्यक पर्ने क्षेत्र पहिचान गरी प्रस्ताव गर्न प्राधिकरणलाई आग्रह गरिन् ।

२८ किलोमीटर प्रसारण लाइनमा पर्ने ७५ ओटा टावरमध्ये ६५ ओटाको जग हालिएको छ । बाँकी १० टावरको जग हाल्ने काम भइरहेको छ । ५९ टावर खडा गरिएको छ भने तीनओटाको काम भइरहेको छ । ११ किलोमीटर तार तानिएको छ । खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ । चिलिमे–त्रिशूली थ्री बी हब प्रसारण लाइनअन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमीटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियाली कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बिजुली जोड्न मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।