काठमाडौं । सन् २०२४ को पहिलो ३ महीनामा हवाई मार्गबाट नेपाल आउने पर्यटक संख्या ३३ दशमलव ७८ प्रतिशतले बढेको देखिएको छ । नेपाल पर्यटन बोर्डले सोमवार सार्वजनिक गरेको पर्यटक आगमनसम्बन्धी तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि मार्चसम्ममा ३ लाख ४ हजार ६ सय ९३ विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या सन् २०२३ को सोही अवधिमा २ लाख २७ हजार ७ सय ५५ थियो ।
सन् २०२४ को शुरूदेखि नै पर्यटक आगमनमा देखिएको सुधारले मार्चमा अझ बढी गति लिएको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । यसपालि मार्चको पर्यटक आगमन पोहोर मार्चको तुलनामा २८ दशमलव ९ प्रतिशतले बढी छ । बोर्डका अनुसार यसपालि मार्चमा १ लाख २८ हजार १६७ पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् । सन् २०२३ को मार्चमा उक्त संख्या ९९ हजार ४२६ थियो । नेपालमा ट्रेकिङ र पर्वतारोहण गर्न रुचाउने पर्यटकमध्ये अधिकांश वसन्त याममा आउने हुँदा समग्र पर्यटक आगमन बढेको बोर्डले बताएको छ ।
‘पर्यटक बढाउन अझै पर्याप्त पूर्वाधार भएनन्, भएको एउटा अन्तरराष्ट्रिय विमानस्थलबाट कति पर्यटक ल्याउनू, चाहेर पनि पर्यटक आएका छैनन्,’ ।
मार्च र अप्रिल हिमाल आरोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिने भएकाले पर्यटक आगमन अझ बढ्ने ट्रेकिङ व्यवसायी बताउँछन् ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले अप्रिलमा पनि पर्यटक आगमन पोहोरको तुलनामा बढ्ने बताए । यी २ महीनामा हिमालहरू बढी खुल्ने हुँदा पर्वतारोहणका लागि आउने पर्यटक संख्या बढ्ने गरेको उनको भनाइ छ ।
अहिले टे्रेकिङ व्यवसाय वृद्धि भइरहेको भन्दै बाँस्तोलाले थपे, ‘अब लगभग डेढ महीनासम्म ट्रेकिङका लागि आउने पर्यटक बढ्ने हुँदा व्यवसायमा अलिक चाप पर्ने अवस्था हुन्छ, त्यसपछिका महीनामा भने यो अवस्था क्रमश: घट्छ ।’ नेपाल आउने पर्यटकमध्ये अधिकतम ३० प्रतिशतको उद्देश्य टे्रकिङ तथा पर्वतारोहण हुने उनको भनाइ छ । यो सिजनका लागि पर्यटन विभागले पर्वतारोहीलाई आरोहण अनुमति दिन थालिसकेको छ ।
मार्चमा धेरै पर्यटक पठाउने देशहरूमा सधैंजस्तै भारत नै अगाडि छ । भारतबाट सो महीना ३० हजार ६९८ पर्यटक नेपालमा आएका छन् । चिनियाँ पर्यटकको संख्या पनि बढेको छ । मार्चमा १२ हजार ९३ पर्यटक चीनबाट आएका छन् । बोर्डका अनुसार यसपालि मार्चमा भारतीय पर्यटकको आगमन पोहोर मार्चको तुलनामा १८ दशमलव ५ प्रतिशतले बढेको छ ।
त्यस्तै चिनियाँ पर्यटकको आगमन पोहोर मार्चको दाँजोमा ३ सय ५८ प्रतिशतले बढेको छ ।
यस्तै अमेरिकाबाट १० हजार ७६३, बेलायतबाट ७ हजार २४१, श्रीलंकाबाट ५ हजार ७४१ र जर्मनीबाट ५ हजार २५५ पर्यटक नेपाल आएका छन् । यीपछि धेरै पर्यटक आउने मुलुकमा थाइल्यान्ड, म्यानमार, फ्रान्स र अस्ट्रेलिया पर्छन् ।
पर्यटन व्यवसायी पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटकीय पूर्वाधार सुधारमा जोड दिनुपर्ने बताउँछन् । ‘पर्यटक बढाउन अझै पर्याप्त पूर्वाधार भएनन्, भएको एउटा अन्तरराष्ट्रिय विमानस्थलबाट कति पर्यटक ल्याउनू, चाहेर पनि पर्यटक आएका छैनन्,’ बाँस्तोलाले भने । सरकारले हाल सञ्चालनमा आइसकेका गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भरपूर उपयोग गर्न र गुणस्तरीय सडक सञ्जाल विस्तार गर्न अत्यावश्यक भएको बाँस्तोलाको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।