मुद्रण उद्योग विकासका अन्तरसम्बन्ध : प्रोत्साहनका लागि लिनुपर्ने केही नीति

Share News

लाइब्रेरी अफ कांग्रेसका अनुसार उत्तरी छिमेकी मुलुक चीनमा ताङ वंशका पालामा आजभन्दा करीब ७०० वर्षअघि छापाखानाको आविष्कार भएको मानिन्छ । यसैका जगमा आधारित भएर छापाखानाहरू पूर्वी एशिया, दक्षिण पूर्वी एशिया हुँदै पश्चिमी गोलाद्र्धमा फैलिन पुग्यो । परन्तु नजिकैको हिमालय भने छापाखानाका सवालमा लामो समयसम्म अन्धकारमै रहन पुग्यो । नेपालमा छापाखानाको इतिहास खोतल्दै जाँदा नागपञ्चमीमा काठमा नाग र अक्षरहरू खोपेर त्यसमा मसी लगाउँदै ताउमा नाग छाप्ने परम्पराबाट शुरू हुन्छ । यो परम्परा अन्य पुस्तकहरू छपाइमा कहिल्यै प्रयोग हुन सकेन । जंगबहादुर राणाको बेलायत भ्रमणसँगै नेपाल भित्रिएको गरुड छापाखाना (गिद्दे प्रेस) को सञ्चालनसँगै नेपाल मुद्रण उद्योग आधुनिक युगमा प्रवेश गरेको मानिन्छ । 

गरुड छापाखानाको स्थापना भए पनि नेपालको मुद्रण उद्योगको केन्द्र भने लामो समयसम्म बनारस नै रहिरह्यो । लागत, विद्वान्हरूलाई प्राप्त अभिव्यक्ति स्वतन्त्रता, प्राज्ञिक वातावरण र नेपालको शिक्षा आर्जनको केन्द्रका रूपमा बनारसको ख्यातिका कारण काठमाडौंको सट्टा बनारस नै नेपाली प्रकाशनको केन्द्रका रूपमा रहन सफल भएको हो । 

२००७ सालपछि विशेष गरी २०४६ सालपछि प्राप्त अभिव्यक्ति स्वतन्त्रता, शिक्षण संस्थाको विस्तार, सञ्चारजगत्को विकास र पुस्तक प्रकाशनमा प्राज्ञिक वर्गको बढ्दो अभिरुचिका माझ नेपाल मुद्रण उद्योगहरू आफ्नै केन्द्रका रूपमा विकास हुन गएको देखिन्छ । परन्तु जुन रूपमा मुद्रण उद्योगको विकास हुनुपर्ने हो त्यसअनुरूप विकास भने हुन सकेको छैन । 

समग्र मुद्रण उद्योग (मसीदेखि मेशिनरीसम्म)का एकअर्कासँग गुनासै गुनासा रहेका छन् । नेपाली कागज उद्योगहरूले नेपाली कागजभन्दा आयातित कागजको बढी प्रयोग हुन थालेकोमा चिन्ता प्रकट गर्दै आएका छन् ।

पहिलो, नेपाल आमरूपमा कम पठन संस्कृति भएको मुलुकमा गनिन्छ । बाध्यात्मक पठन (परीक्षा उत्तीर्ण गर्नका लागि गरिने पुस्तक अध्ययन) नेपालको अध्ययन संस्कृतिको मूलप्रवाहका रूपमा स्थापित भएको छ । गैरपाठ्यक्रमका पुस्तकहरूको अध्ययनको संस्कृित अपवादका रूपमा मात्र रहेको छ । अझै पनि अधिकांश साहित्यिक प्रकाशन बल विक्रय (पुस सेल) का आधारमा मात्र टिकिरहेका छन् । सिन्डिकेटले प्रचारप्रसार गरिदिएको भरमा भावनामा आएर केही पाठक साहित्यिक प्रकाशनमा आकर्षित देखिए तापनि ती प्रकाशन पनि आम पाठकका रुचिका विषय बन्न सकेका छैनन् । भावनात्मक पठनको संस्कृतिले समाजको अति सानो तप्कालाई मात्र समेट्न सकेको छ । एक जनाले पुस्तक किन्ने अनि १० जनाले मैले पनि पढें भन्दै पुस्तक सापट माग्दै सामाजिक सञ्जालमा पुस्तकको महिमामण्डन गर्ने प्रवृत्तिमा आबद्ध छ, भावनात्मक पठन । 

एक वर्ग छ, जो नेपाली लेखकका पुस्तक पढ्न निषेधात्मक वातावरण सृजना गरिरहेको छ । नेपाली समाजमा विद्वत् भनी स्थापित वर्गले सञ्चारमाध्यममा तपाईंलाई मन पर्ने पुस्तक र लेखक कोको हुन् भन्दा कसैले पनि नेपाली पुस्तक र लेखकको नाम लिएको पाइँदैन । नाम लिई हाले पनि दर्जन विदेशी लेखक र पुस्तकका पुच्छारमा देवकोटासम्मको नाम उच्चारण गरिदिन्छन् । 

अन्तरराष्ट्रिय ख्यातिप्राप्त केही नेपाली लेखकका पुस्तकहरू प्रायश: बाह्य मुलुकका प्रकाशन गृहहरूबाट प्रकाशित छन् । लेखका लागि प्राप्त हुने रोयल्टी र गुणस्तरको प्रत्याभूतिका कारण ख्यातिप्राप्त नेपाली लेखकहरूले विदेशी प्रकाशनलाई रुचाएको सम्बद्ध क्षेत्रका विज्ञहरूको भनाइ रहँदै आएको छ । 

उपर्युक्त परिस्थिति हुँदाहुँदै पनि नेपाली मुद्रण उद्योगका गतिविधि भने हरेक वर्ष बढ्दै गएको नेपालको वैदेशिक व्यापार तथ्यांकले इंगित गरेको छ । आर्थिक वर्ष (आव) सन् २००८/०९ मा नेपालमा मुद्रण क्षेत्रसँग सम्बद्ध वस्तुहरूको आयात रू. ७ अर्ब २२ करोड बराबर रहे तापनि आव २०२२/२३ मा त्यो आयात लगभग चार गुनाले वृद्धि भई रू. २८ अर्ब १ करोड पुगेको छ । यसरी हुने आयातमा कागजको कच्चापदार्थका रूपमा रहेको पल्प, मसी, कागज, मुद्रित वस्तु र मुद्रण मेशिनरीहरू रहेका छन् । आव २०२२/२३ मा मुद्रण उद्योगसँग सम्बद्ध उपर्युक्त वस्तुहरूको आयात ती वस्तुको कुल आयातमा कागजको कच्चापदार्थ पल्पको अंश १ दशमलव ९५ प्रतिशत, मसीको अंश ४ दशमलव ६८ प्रतिशत, कागजको अंश ६५ दशमलव ६५ प्रतिशत, मुद्रित सामग्रीको अंश १५ दशमलव ५१ प्रतिशत र मुद्रण मेशिनरीको अंश १२ दशमलव २१ प्रतिशत रहेको छ । 

यसरी नेपालको मुद्रण उद्योगमा करीब रू. २८ अर्ब बराबरको योगदान आयातको मात्र रहेको छ । यस्तो विशाल आकार र क्षेत्र भएको मुद्रण उद्योग धराशयी हुने चिन्ता सर्वत्र व्याप्त छ । लेखकहरू प्रकाशकका अपारदर्शी व्यवहारले नेपाली मुद्रण उद्योगले अपेक्षित गति लिन नसकेको मत राख्छन् । प्रकाशकहरू गुणस्तरीय लेखकको अभाव रहेको अभिमत राख्छन् । सरकारका नीतिहरू नेपाली मुद्रण उद्योगमैत्री नरहेको लेखक र प्रकाशक दुवैको दृष्टिकोण रहेको छ । समग्र मुद्रण उद्योग (मसीदेखि मेशिनरीसम्म) का एकअर्कासँग गुनासैगुनासा रहेका छन् । नेपाली कागज उद्योगहरूले नेपाली कागजभन्दा आयातित कागजको बढी प्रयोग हुन थालेकोमा चिन्ता प्रकट गर्दै आएका छन् । 

पुस सेल र नि:शुल्क बाँड्ने प्रवृत्तिलाई नियन्त्रण गरी बजारको नियमअनुसार पुस्तक प्रवाह हुने अभ्यासमा जाने गरी लेखकहरूले पनि आफ्नो लेखकीय धर्ममा निखार ल्याउन जरूरी देखिन्छ । यसो गर्न सकेको खण्डमा निश्चय नै नेपाली मुद्रण उद्योग नेपालको अर्थतन्त्रको विकासमा महङ्खवपूर्ण तङ्खवका रूपमा स्थापित हुने निश्चित छ । 

न्यूजप्रिन्टमा ५ प्रतिशत भन्सारदर रहे तापनि अन्य कागजमा ३० प्रतिशतसम्म भन्सार रहेकोमा यसले नेपाली मुद्रण उद्योगका प्रकाशनहरू विदेशी प्रकाशनभन्दा महँगो हुँदै गएको भनी चिन्ता रहेको छ । पाठकहरू उच्चकोटीका पुस्तक न्यूनतम मूल्यमा किन्न चाहन्छन् । उपर्युक्त परिस्थितिमा नेपाली कागज उद्योग, नेपाली प्रकाशक, लेखक र पाठक तीनओटै पक्षको हित हुने गरी समग्र मुद्रण क्षेत्रको विकास हुन जरुरी देखिन्छ । 

यसका लागि नेपाली कागज उद्योगहरूलाई सहुलियत दरमा बिजुली, जग्गा र कच्चापदार्थ संकलनमा सहजता, करमा छूट एवम् सहुलियत दरको ब्याजसहितको अनुदानको व्यवस्था गर्न सकेको खण्डमा नेपाली कागज 
 उद्योगहरू आयातित कागजसँग सजिलै प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ । 

नेपाली प्रकाशकहरूलाई पनि कागज उद्योगहरूलाई झैं अनुदान र छूटको व्यवस्था हुन जरुरी छ । त्यस्तै लेखकको लेखस्वलाई पारदर्शी हुने गरी ट्र्याकिङ प्रणालीको विकास गर्ने गरी नेपाल सरकारले नियमनकारी भूमिकालाई प्रभावकारी रूपमा निभाउनु पनि त्यत्तिकै जरुरी छ । 

लेखकहरूले पनि झारा टार्ने प्रवृत्तिलाई त्याग्दै लगनशील र अध्ययनशील भएर ज्ञानको गहिराइमा पुगेर लेख्ने बानी बसाल्न जरुरी छ । पुस सेल र नि:शुल्क बाँड्ने प्रवृत्तिलाई नियन्त्रण गरी बजारको नियमअनुसार पुस्तक प्रवाह हुने अभ्यासमा जाने गरी लेखकहरूले पनि आफ्नो लेखकीय धर्ममा निखार ल्याउन जरुरी देखिन्छ । यसो गर्न सकेको खण्डमा निश्चय नै नेपाली मुद्रण उद्योग नेपालको अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण तत्त्वका रूपमा स्थापित हुने निश्चित छ । 

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।