परियोजनाका समस्यामा विश्व बैंक र एडीबीको गुनासो

Share News

काठमाडौं । विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) को लगानीमा नेपालमा सञ्चालित परियोजनाको समीक्षासम्बन्धी त्रिपक्षीय ‘पोर्टफोलियो’ समीक्षा बैठक मंगलवार अर्थ मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगति समीक्षा भएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जानकारी दिएको छ । 

नेपालमा विश्व बैंकको करीब २ अर्ब ३० करोड अमेरिकी डलर बराबर लागतका २३ ओटा र एशियाली विकास बैंकको करीब ३ अर्ब ६० करोड अमेरिकी डलर लागतका २६ ओटा आयोजना अघि बढिरहेका छन् । यी दुवै बैंकको लगानी सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा छ । 

पोर्टफोलियो समीक्षा बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानीमा ढिलाइ, वनक्षेत्रको जग्गा भोगाधिकारमा रहेको कानूनी तथा व्यावहारिक जटिलतालगायत कारण आयोजना निर्माणमा ढिलाइ भइरहेको गुनासो गरेको अर्थमन्त्री पुनको सचिवालयले बताएको छ ।

आयोजनामा भइरहेको ढिलाइबारे विश्व बैंक र एशियाली विकास बैंकको गुनासो सुनेपछि अर्थमन्त्री पुनले ती आयोजनाका प्रणालीगत समस्यालाई नीतिगत सुधारमार्फत र व्यावहारिक समस्यालाई अन्तरमन्त्रालय तथा निकायसँगको समन्वयमा समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

विकास आयोजना कार्यान्वयनमा दक्षता वृद्धि जरुरी रहेको मन्त्री पुनको भनाइ थियो । उनले विकास आयोजनामा ठेक्का व्यवस्थापन, अन्तरमन्त्रालय तथा एजेन्सी समन्वय, सुरक्षा तथा मानव संशाधन व्यवस्थापनलगायत क्षेत्रसँग सम्बद्ध रहेको बताए । आफूले योजना कार्यान्वयन गर्ने निकायसँग समन्वय र छलफल गरिरहेको भन्दै अर्थमन्त्री पुनले सम्बद्ध निकायबाट कामको गति बढाउने प्रतिबद्धता आएको जानकारी दिए । 

बैठकमा मन्त्री पुनसहित अर्थसचिव कृष्णहरि पुष्कर, मन्त्रालयका सहसचिवहरू, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने देशीय निर्देशक फारिस हदाद जर्भोस, एशियाली विकास बैंकका दक्षिण एशिया हेर्ने महानिर्देशक ताकेओ कोनिशीलगायत सहभागी थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।