किन घटिरहेको छ शेयरबजार ?

Share News

काठमाडौं । पछिल्ला दिनमा धितोपत्र बजारको परिसूचक नेप्से लगातार घटिरहेको छ । फागुनको अन्त्यतिर नयाँ गठबन्धन सरकार बनेपछि बढेर २१ सय बिन्दु माथिसम्म पुगेको नेप्से पुन: २ हजार बिन्दुभन्दा तल ओर्लेको छ ।

नयाँ सरकार बनेपछि नेप्से बढेर गत फागुन ३० गते उच्च बिन्दु २ हजार १२४ दशमलव शून्य ८ सम्म पुगेको थियो । गत वैशाख ६ गते बिहीवार घटेर १ हजार ९७२ दशमलव १४ बिन्दुमा कायम भएको छ ।

नेप्से निरन्तर घट्दा कारोबार रकमसमेत घट्दो क्रममा छ । ४ अर्ब रुपैयाँभन्दा माथि रहेको दैनिक कारोबार यस अवधिमा घटेर २ अर्ब रुपैयाँ वरिपरि घुमिरह्यो । यसबाट धितोपत्रको दोस्रो बजारमा सीमित कारोबार मात्र भएको स्पष्ट हुन्छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा अधिक तरलताका कारण ब्याजदर घटेपछि पूँजीबजार माथि उठ्ने अनुमान गरिए पनि बढ्न सकेन ।

लगानीकर्ता तथा शेयरबजारका जानकारहरू राजनीतिक अस्थिरता, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा कस्तो परिवर्तन हुने हो भन्ने अन्योल, अर्थतन्त्रको नराम्रो हालत र केही मात्रामा बढेको बोनस र हकप्रद शेयरका कारण बजार माथि जान नसकेको बताउँछन् । 

  • हकप्रद र बोनस शेयरको संख्या थपिनु
  •  बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको केही प्रावधान संशोधन प्रस्ताव 
  •  अर्थतन्त्रमा आएको शिथिलतामा सुधार नआउनु
  •  बैंक, वित्तीय संस्थाको नाफामा देखिएको कमी

सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको केही प्रावधान संशोधन गर्न संसद्मा विधेयक दर्ता गरेको छ । उक्त विधेयकमा कुनै एक व्यक्ति वा संस्थाले अन्य व्यक्ति वा संस्थासँग मिलेर बैंक तथा वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने प्रस्ताव गरिएको छ । हाल यो सीमा २ प्रतिशत छ ।

यसले गर्दा १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व हुनेले आफ्नो स्वामित्व घटाउन शेयर बेच्नुपर्ने हुन्छ । उक्त शेयर बजारमा आउँदा बैंक वित्तीय संस्थाको शेयर मूल्य घटेर बजारमा असर पर्न सक्ने डर लगानीकर्तामा देखिन्छ ।

‘कतिपय लगानीकर्ता यो ऐन संशोधन भएपछि बजारमा शेयरको आपूर्ति धेरै हुन्छ भन्ने हल्लाको पछि लागेका छन्, शेयरबजार ओरालो लाग्नुमा यसको पनि हात रहेको देखिन्छ,’ धितोपत्र बजारका लगानीकर्ता नवराज दाहालले भने ।

निरन्तरजसो बढेको बोनस र हकप्रद शेयरका कारण बजारमा आपूर्ति धेरै छ । यही कारण पनि बजारमा शेयरको मूल्य बढ्न नसकेको कतिपय लगानीकर्ताको भनाइ छ ।

अन्तरराष्ट्रिय पूँजीबजारविज्ञ मुक्ति अर्याल अर्थतन्त्रमा आएको शिथिलताको प्रतिबिम्ब शेयरबजारमा देखिएको बताउँछन् । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा अर्थतन्त्र गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । चालू आवमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशत रहने एशियाली विकास बैंकले १ हप्ताअघि प्रक्षेपण गरेको छ ।

‘शेयरबजार भनेको अर्थतन्त्रको प्रतिबिम्ब (रिफ्लेक्शन) हो । पछिल्लो समय बैंकहरू र व्यवसायी पनि समस्यामा छन् । बजारमा माग छैन । त्यसैले बैंकहरूमा पैसा भए पनि त्यो लगानी हुन सकेको छैन । यसकारण पनि शेयर बजार प्रभावित भएको हो,’ अर्यालले आर्थिक अभियानसँग भने ।

बैंकहरूले लगानी गर्न नसक्दा उनीहरूको नाफामा पनि असर गरेको छ । विभिन्न वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पनि उनीहरूको नाफामा कमी आएको छ । लामो समयदेखि रहेको बैंक वित्तीय संस्थाको पूँजीबजारमा रहेको प्रभाव अझै कायमै छ ।

कतिपय लगानीकर्ता शेयर धितो कर्जामा राष्ट्र बैंक थप लचिलो हुनुपर्ने तर्क राख्छन् । अहिले व्यक्तिले अधिकतम १५ करोड रुपैयाँ र संस्थाले २० करोड रुपैयाँसम्म मात्र शेयर धितो कर्जा लिन पाउँछन् । यस्तो कर्जा शेयर नै धितो राखेर बैंक, वित्तीय संस्थाबाट लगानीकर्ताले लिन्छन् । चालू आवमा राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाउनुका साथै जोखिम भारित अनुपात पनि कम गरेकोले शेयर धितो कर्जा केही बढेको देखिएको छ ।

चालू आवको फागुनसम्म बैंकहरूले ८५ अर्ब ७० करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेका छन् । गत असारसम्म ७६ अर्ब ३० करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो । ‘अर्थतन्त्रको अवस्थाबाहेक सरकार र राष्ट्र बैंकको नीतिले पूँजीबजार तल वा माथि लैजान ठूलो भूमिका खेल्छ,’ अर्यालले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।