आर्थिक गतिविधि सुस्ताउँदा चालू खाता बचत उच्च

Share News

काठमाडौं। बढ्दो विप्रेषण र घट्दो आयातका कारण देशको चालू खाता बचत उच्च भएको छ । देशभित्रको आर्थिक गतिविधिमा शिथिलता आएका कारण आयात घटेको केही साताअघि राष्ट्रिय तथ्यांक कार्यालयले बताएको थियो । यही बेला चालू खाता बचत उच्च रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशित गरेको छ ।

केन्द्रीय बैंकले आइतवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्ममा चालू खाता १ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा चालू खाता ६० अर्ब ४३ करोड रुपैयाँले घाटामा थियो । देशको वैदेशिक कारोबार– आयातनिर्यात, वैदेशिक सहयोग तथा विप्रेषण, वैदेशिक लगानी प्राप्ति तथा विदेशी लगानीकर्ताले लाभांशको रूपमा फिर्ता लैजाने रकमको हिसाब चालू खातामा राखिन्छ । 

यी वैदेशिक कारोबारमा आम्दानी बढी भए चालू खाता बचतमा र खर्च बढी भए चालू खाता घाटामा जाने गर्छ । पछिल्लो समय नेपालमा विप्रेषण आप्रवाह उच्च हुनुका साथै आयात पनि घटेपछि चालू खाताको बचत बढेको हो । 

चालू खाता बचतले अर्थतन्त्रको बाह्य अवस्था बलियो रहेको देखाउने भए पनि यो बढ्दै जानु आर्थिक गतिविधि नभएको संकेत भएको अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । ‘चालू खाता बचत र वैदेशिक मुद्रा सञ्चितिको अवस्थाले अर्थतन्त्रको बाह्य अवस्था बलियो रहेको देखाउँछ,’ उनले भने, ‘यसलाई सदुपयोग गरेर आर्थिक गतिविधि चलायमान बनाउन सकिन्छ ।’ बैंकमा तरलता यथेष्ट रहेको र ब्याजदर पनि घटेकाले निजीक्षेत्रले यसलाई व्यवसाय बढाउनका लागि सम्भावना भएका क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । 

गतवर्ष चालू खाता घाटा उच्च हुनुका साथै विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा सरकारले विभिन्न विलासी सामानको आयातमा प्रतिबन्ध नै लगाएको थियो । विप्रेषण आप्रवाहमा सुधार र आयात घट्दा अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सहज भएपछि सरकारले आयात प्रतिबन्ध हटाएको हो । 

राष्ट्र बैंकका अनुसार चालू आवको चैतसम्ममा विप्रेषण आप्रवाह १९ दशमलव ८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १७ दशमलव ७ प्रतिशतले बढेर ८ अर्ब १५ करोड पुगेको छ । तर, चालू आवको चैतसम्ममा आयात पनि २ दशमलव ८ प्रतिशतले घटेर ११ खर्ब ६७ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ । चालू वर्षको चैतसम्ममा पर्यटकबाट हुने भ्रमण आय पनि ४० प्रतिशतले वृद्धि भई ६० अर्ब ४५ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा भ्रमण आय ४३ अर्ब १७ करोड रुपैयाँ थियो । यस्तै चैतसम्ममा विदेश घुम्न जाने सर्वसाधारण र विद्यार्थीले गर्ने खर्च अर्थात भ्रमण व्यय ४२ दशमलव ५ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । 

यसमध्ये शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रुपैयाँ बराबर छ । गत आवको यही अवधिमा भ्रमण व्यय १ खर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय ६७ अर्ब १९ करोड रुपैयाँ थियो ।

देशमा आर्थिक गतिविधि घट्दा आयात प्रभावित भएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले केही समयअघि यो वर्ष देशको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ, जसमा निर्माण क्षेत्र २ दशमलव ७ प्रतिशत र उद्योग क्षेत्र १ दशमलव ६ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । 

आयातमा आएको कमीसँगै देशको विदेशी मुद्रा सञ्चिति पनि उच्च बिन्दुमा पुगेको छ । २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति २४ दशमलव २ प्रतिशतले बढेर २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैतमा २२ दशमलव ७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

आव २०८०/८१ को ९ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महीनाको वस्तु आयात र १२ दशमलव ५ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा न्यूनतम ७ महीनाको आयात धान्ने गरी विदेशी मुद्रा सञ्चिति कायम राख्ने लक्ष्य निर्धारण गरेको छ । 

चालू आवको चैतसम्ममा बैंक, वित्तीय संस्थाहरूको निक्षेप ७ दशमलव २ प्रतिशत बढ्दा कर्जा लगानी ४ दशमलव ६ प्रतिशतले मात्र बढेको छ । निक्षेपको तुलनामा कर्जा प्रवाह सुस्त हुँदा वित्तीय प्रणालीमा अधिक तरलता देखिँदै आएको छ । 

तरलता व्यवस्थापनका लागि चालू आवको चैतसम्म निक्षेप संकलन बोलकबोलमार्फत ६ खर्ब ९३ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत ८ खर्ब ६८ अर्ब ३५ करोड गरी कुल १५ खर्ब ६१ अर्ब ४० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले बताएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।