काठमाडौं। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि कुमारी क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हाइड्रोका अध्यक्ष सतिश न्यौपाने र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रोले नुवाकोटको घ्याङफेदीस्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरी ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको निर्माण करीब ७० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ । अबको १० महीनाभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीको योजना छ । आयोजनाबाट उत्पादित विद्युत् शक्ति ३३ केभी डबल सर्किट ट्रान्समिसन लाइनमार्फत ८ किलोमिटर लामो समुन्द्रटार सबस्टेशनमा जडान गरिने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।