निर्यात विविधीकरण निर्यात प्रवर्द्धनको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको हुन्छ । जोखिम न्यूनीकरण र निर्यात अभिवृद्धि निर्यात विविधीकणका दुई मुख्य उद्देश्यका रूपमा रहेका छन् । नेपालले पनि दोस्रो पञ्चवर्षीय योजनादेखि नै निर्यात विविधीकरणको रणनीति अंगीकार गरेको हो । यही रणनीतिको फलस्वरूप नेपालको निर्यातलाई तेस्रो मुुलुकहरूमा विस्तार गर्ने हेतुले २०२७ सालमा व्यापार प्रवर्द्धन केन्द्रको स्थापना भएको हो । यही प्रयोजनलाई दृष्टिगत गर्दै केन्द्रले पाँचओटा माध्यमबाट नेपालको निर्यात विविधीकरणलाई योगदान पुर्याएको देखिन्छ । पहिलो, तेस्रो मुुलुकको बजारका सम्बन्धमा नेपाली उत्पादनकर्ताहरूलाई आवश्यक पर्ने सूचनाहरू प्रवाह गर्ने कार्य गरिरहेको छ । दोस्रो, तेस्रो मुलुकमा आयोजना हुने व्यापार मेलाहरूमा नेपाली निर्यातकर्तालाई सहभागी गराउने काम हो । तेस्रो मुलुकको बजारको बारेमा आवश्यक अनुसन्धान गर्ने र चौथो नेपाली उद्यमीहरूलाई तेस्रो मुलुकको बजारको मागअनुसार नेपाली वस्तु उत्पादन कसरी गर्ने भन्ने बारेमा नेपाली उद्यमीहरूको क्षमता अभिवृद्धि गर्ने काम हो । पाँचांै, तेस्रो मुलुकमा नेपालको निर्यात विविधीकरण गर्न नेपाल सरकारलाई आवश्यक नीति परामर्श उपलब्ध गराउनु हो । यी कार्य तत्कालीन समयमा केन्द्रले प्रभावकारी रूपमा सम्पादन गर्दै आइरहेको थियो । केन्द्रले आफ्नो स्थापनाकाल देखिको २ दशकभित्र खेलेको त्यति बेलाको भूमिका र हालेको जगका आधारमा नै हाल मुलुकको निर्यात व्यापार विश्वका सयभन्दा बढी देशमा विस्तार हुन सफल भएको हो ।
निर्यात विविधीकरणलाई धेरै नीतिनिर्माताले भारतकेन्द्रित निर्यातलाई तेस्रो मुलुकमा विस्तार गर्ने रूपमा पनि बुझ्ने गरेका छन् । परन्तु निर्यात विविधीकरणमा नयाँ गन्तव्य, नयाँ वस्तु, अधिक मूल्य प्राप्ति र स्थायित्व गरी चारओटा तत्त्व अन्तरनिहित रहेका हुन्छन् । उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपाली विशेषतायुक्त निर्यात विविधीकरणका स्वरूप निर्धारण गर्न आवश्यक हुन्छ । सर्वप्रथम, निर्यात विविधीकरणका आन्तरिक क्षमताको प्रश्न सबैभन्दा टड्कारो विषयका रूपमा रहने गर्छ । आन्तरिक क्षमता भन्नासाथ यसमा उत्पादनको पक्ष स्वत: जोडिएर आउँछ । उत्पादनको पक्ष भन्नासाथ यसमा उत्पादनको परिमाण, उत्पादनको मूल्य, उत्पादनको गुणस्तर, उत्पादनको आपूर्ति सुनिश्चितताजस्ता विषय महत्त्वपूर्ण पक्षका रूपमा रहेका हुन्छन् ।
नेपालको करीब रू. १६ खर्बको वस्तु आयात व्यापार नेपालको निर्यात विविधीकरणका लागि अवसरका रूपमा रहेको छ । यस आयातलाई निर्यात विविधीकरणको औजारका रूपमा प्रयोग गर्न सकिने सम्भावना रहेको छ ।
आन्तरिक क्षमतामा नियमनकारी निकायहरूको ख्याति र दक्षता र लजिस्टिक पक्षमा चाहिने दक्षता पनि स्वत: आकर्षित हुने गर्छ । विशेष गरी नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरणका सम्बन्धमा नेपाली निकायका प्रमाणपत्रहरूलाई गन्तव्य मुुलुकमा गरिने व्यवहार सबैभन्दा बढी महत्त्वको विषयका रूपमा रहने गर्छ । यी क्षमता विकास हुनासाथ निर्यात विविधीकरणका धेरै ढोका स्वत: खुल्नेछन् । उपर्युक्त क्षमताको विकास हुनासाथ विशेष गरी नेपाली कृषिजन्य उत्पादनहरूका लागि नयाँ प्रवेशद्वारहरू प्राप्ति हुने निश्चित छ । पहिलो चरणमा मसलाजन्य उत्पादन जस्तै अदुवा, अलैंची, वन्यजन्य उत्पादनहरूमा जडीबुटी, नगदेबालीका रूपमा रहेका चिया, कफी तथा दुग्धजन्य उत्पादनलाई तेस्रो मुलुकमा विविधीकरण गर्न सक्ने सम्भावना अधिक रहेको छ ।
विश्वका सयभन्दा बढी मुुुलुकमा नेपालको निर्यात व्यापार स्थापित भइसकेको सन्दर्भमा ती देशसँगको व्यापारमा नेपाली व्यवसायीहरू कुनै न कुनै रूपमा परिचित भइसकेका हुन्छन् । नेपालको निर्यात विविधीकरणका लागि यो सबैभन्दा ठूलो निधिका रूपमा रहेको छ । उनीहरूलाई कम्तीमा सम्बद्ध देशको बजार, बजारको चरित्र, सम्पर्कसूत्र, आयात प्रक्रिया र उपभोक्ताको रुचिका बारेका एक चरणको तत्त्वबोध भइसकेको हुन्छ । त्यस तत्त्वबोधलाई नेपाल सरकारले व्यवस्थित गर्दै सम्बद्ध देशको बजार रहेका सबैप्रकारका सम्भावनालाई उपयोग गर्ने रणनीति अंगीकार गर्नु यस सम्बन्धमा अझ बढी फलदायी हुन्छ । कुनै देशमा एकचोटि मात्रै पनि नेपाली वस्तु निर्यात गरिसकेको नेपाली निर्यातकर्ता सम्बद्ध देशका लागि नेपाली निर्यातका लागि टे्रड इन्टेलिजेन्सका लागि सबैभन्दा भरपर्दो र विश्वसनीय स्रोतका रूपमा रहेको हुन्छ । निर्यात विविधीकरणमा उक्त पक्षको उपयोग गर्न सकेको खण्डमा निर्यात विविधीकरणका धेरै पहलु स्वत: खुलेर आउँछन् ।
उदाहरणका लागि नेपालको सन्दर्भमा चर्चा गर्दा ललितपुर उद्योग वाणिज्य संघको भूटानको चेम्बर अफ कमर्शसँग लामो सम्बन्ध रहेको छ । नेपालको व्यापारलाई भुटानमा विविधीकरण गर्न उक्त संघसँग रहेको लामो अनुभव र सहकार्यलाई उपयोग गर्न सकेको खण्डमा नेपालको भुटानसँगको निर्यात विविधीकरणले थप गति लिने देखिन्छ । अर्को उदाहरण किर्गिजस्तानलाई लिन सकिन्छ । आर्थिक वर्ष २०२३/२४ मा नेपालबाट किर्गिजस्तानमा केवल रू. ६ लाख ९३ हजार बराबरको मात्र निर्यात भएको पाइन्छ । यो निर्यातको रकम सानो भए तापनि किर्गिजस्तानसँग निर्यात गर्ने नेपाली निर्यातकर्तासँग रहेको सूचना र अनुभव भने धेरै नै मूल्यवान् रहेको हुन्छ । सन् २०२२ मा किर्गिजस्तानको कुल आयात ९ अर्ब अमेरिकी डलर बराबर रहेको छ जसमध्ये नेपालको निर्यात क्षमता भएका वस्तुको अंश करीब १५ प्रतिशत रहेको छ ।
नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरणका सम्बन्धमा नेपाली निकायका प्रमाणपत्रहरूलाई गन्तव्य मुुलुकमा गरिने व्यवहार सबैभन्दा बढी महङ्खवको विषयका रूपमा रहने गर्छ । यी क्षमता विकास हुनासाथ निर्यात विविधीकरणका धेरै ढोका स्वत: खुल्ने गर्छन् ।
किर्गिजस्तानले आयात गरिरहेका र नेपालले निकासी गर्न सक्ने सम्भावना भएका वस्तुमा दुग्धजन्य उत्पादन, फलफूल, चिया, चाउचाउ, बिस्कुट, बियर, कुकुर बिरालाका आहारा, प्लाइवुड, सेन्थेटिक फेब्रिक, कार्पेट, तयारी पोशाक, जुत्ता, चाँदीका गरगहना र स्यानीटरी प्याड प्रमुख रूपमा रहेका छन् । यी क्षेत्र भनेका नेपालले उत्पादन विस्तार गर्न सक्ने र निर्यातमा अनुभव प्राप्त गरिसकेका क्षेत्र हुन् । किर्गिजस्तानमा रहेका यी सम्भावनाहरूलाई उपयोग गर्न किर्गिजस्तानको व्यापारमा संलग्न व्यवसायीलाई सम्पर्क सूत्रका रूपमा लिई दुईबीच सरकारी तहमा समेत पहल हुन सकेको खण्डमा उपर्युक्त सम्भावनाहरूलाई व्यवहारमा उतार्न सक्ने देखिन्छ । यसका लागि दुई देशबीच घनीभूतरूपमा आर्थिक संवाद र वार्ताको थालनी हुन जरुरी हुन्छ । ती संवाद र वार्ताहरूको सफलतासँगै दुई देशबीच कूटनीतिक तहमा भ्रमण आदानप्रदान हुन पनि आवश्यक छ । यी क्रियाकलापको सफलतासँगै उच्चस्तरीय प्रतिनिधिमण्डलहरूको भ्रमण आदानप्रदान गरी त्यसमा नेपाली र किर्गिजस्तानी व्यापारीहरूबीच आयातनिर्यात दुवैथरी सम्झौताहरू हुने प्रबन्ध गरी दुई देशबीचको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुर्याउन सकिन्छ ।
नेपालको करीब रू. १६ खर्बको वस्तु आयात व्यापार नेपालको निर्यात विविधीकरणका लागि अवसरका रूपमा रहेको छ । यस आयातलाई निर्यात विविधीकरणको औजारका रूपमा प्रयोग गर्न सकिने सम्भावना रहेको छ । कुनै अमुक देशसँग नेपालले निर्यातसम्बन्धी सम्झौताहरू अघि बढाउँदै जाँदा त्यस देशबाट गर्न सकिने आयातको सम्झौता पनि गर्नु पर्ने हुन्छ, दुवै देशको हित हुने रणनीतिअन्तर्गत । यो रणनीतिअनुसार निर्यात अभिवृद्धि गर्ने अभियान थाल्न सक्ने हो भने रू. १६ खर्बको हाराहारीमा रहेको आयातको पनि विविधीकरण हुने र त्यस विविधीकरणसँग नेपालको निर्यात पनि सोही अनुपातमा विविधीकरण हुने देखिन्छ ।
उदाहरणका रूपमा फेरि पनि किर्गिजस्तानलाई नै लिन सकिन्छ । नेपालबाट किर्गिजस्तानमा चिया निर्यात गर्ने हो भने किर्गिजस्तानबाट कपास र ऊन आयातको सम्झौता नेपालले गर्न सक्छ । यसो गर्न सकेको खण्डमा नेपाल र किर्गिजस्तानवीच चिया, कपास र ऊनको व्यापारको नयाँ प्रवाह स्थापित हुन सक्छ । यस मोडालिटीको व्यापार अभिवृद्धि अहिलेको विश्वमा आम अभ्यासमा रहेको छ र नेपालले पनि यस ढाँचाबाट निर्यात र आयात विविधीकरण गर्न चाहेको खण्डमा यो रणनीति नेपालको निर्यात प्रवर्द्धनका लागि वरदान सावित हुने निश्चित छ । परन्तु खाँचो छ, यस रणनीतिलाई प्रयोग गर्न चाहिने सूचना, विधि, सम्पर्क र सहमतिको वातावरण सृजना सक्ने उत्प्रेरणादायी नेतृत्व र दक्ष व्यापार विज्ञको ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।