वीरगञ्ज । जनशक्ति पलायन रोक्न स्वदेशमै युवा र उद्यम व्यापारमैत्री नीतिको खाँचो औंल्याइएको छ । इकोनोमिक रिपोर्टर्स एशोसिएशन, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अर्थ संवाद समिति र नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले बुधवार वीरगञ्जमा आयोजना गरेको ‘आर्थिक विकासमा जनशक्ति व्यवस्थापनको सवाल’ विषयक अन्तरक्रियाका सहभागीहरूले समृद्धिको लक्ष्यमा पुग्न जनशक्ति पलायन मुख्य चुनौतीको रूपमा रहेको बताएका हुन् ।
रोजगारी र अध्ययनका नाममा दैनिक सयौं युवा विदेशमा पुगिरहेको भन्दै युवालाई स्वदेशमै आयको अवसर देखाउन नसक्दासम्म पलायन नरोकिने उनीहरूले बताए । नियम कानूनले बाँधेर सम्भव नहुने पनि उनीहरूले स्पष्ट पारे । युवालाई स्वदेशमै बसेर विदेशजत्तिको आम्दानी गर्न सकिन्छ भन्ने कुरामा आश्वस्त पार्न सकेमात्रै पलायन कम हुने र त्यसका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा उनीहरूले जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले आर्थिक विकासका सवालमा राजनीति गम्भीर नभएकाले युवा पलायन रोक्न नसकिएको बताए । ‘राजनीतिलाई अहिलेको आर्थिक अवस्था र आवश्यकताको बारेमा जानकार बनाउन जरुरी देखियो । राजनीतिले विकासलाई प्राथमिकतामा राखेमात्रै स्वदेशमा आर्थिक अवसर सृजना हुन्छ । युवाको पलायन रोक्न सकिन्छ,’ अध्यक्ष टेमानीले भने ।
पर्यटन, उत्पादन, खनिज, जडीबुटीजस्ता क्षेत्रमा अवसर भए पनि त्यसको उपयोग हुन नसकेको उनको भनाइ थियो । वीरगञ्ज कलेजका क्याम्पस प्रमुख विनोद गुप्ताले युवा पलायनले सामाजिकसँगै गम्भीर आर्थिक समस्या सृजना भएको बताए । अर्थतन्त्र विप्रेषणमा निर्भर हुँदै गए पनि यस्तो आय दिगो नहुने र अधिकांश रकम उपभोगमा सकिने गरेको गुप्ताले औंल्याए ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले आर्थिक विकासका सवालमा राजनीति गम्भीर नभएकाले युवा पलायन रोक्न नसकिएको बताए ।
जनसंख्या वृद्धिदर घट्नु र युवाशक्तिको पलायनले विकासका लागि चाहिने जनशक्तिको अभाव सृजना भइसकेको र समाजमा पाको उमेर समूहको संख्या बढ्दै गएकोतर्फ उनले चिन्ता प्रकट गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सुशासनको अभाव युवा पलायनको प्रमुख कारण भएको दाबी गरे ।
राजनीति र अर्थनीतिको अस्थिरताले आर्थिक अवसर खुम्चिएको भन्दै उनले राजनीतिक मतान्तर भए पनि आर्थिक विकासका एजेन्डामा दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताए । स्वदेशमै काम गर्ने वातावरण भएमा विदेश गएका युवा फर्किएर आउन सक्ने पनि उनको भनाइ थियो ।
सरकारले बनाएका आवधिक र दीर्घकालीन विकास योजनामा मानव संसाधनको प्रक्षेपण र योजना नभएको इकोनोमिक रिपोर्टर्स एशोसिएशनका अध्यक्ष ओमप्रकाश खनालले बताए । स्वदेशमा रोजगारी र न्यूनतम आयको ग्यारेन्टी नहुँदा युवाहरू अदक्ष कामदारको रूपमा बाहिरिएको भन्दै उनले अर्थतन्त्रले जनसांख्यिक अवसर गुमाइरहेकोमा चिन्ता प्रकट गरे ।
‘स्वदेशमै सहजरूपमा उद्यम, व्यापार गर्ने वातावरण हुनुपर्छ । रोजगारीबाट आधारभूत आवश्यकता पूरा गर्न सकिने तहसम्मको आय निश्चित हुने हो भने युवा जनशक्ति पलायन रोक्न सकिन्छ । मानिसलाई राज्यले जनशक्तिको व्यवहार गरिरहेको छैन, केबल जनसंख्याको रूपमा हेरिरहेको छ,’ उनले भने ।
वीरगञ्ज कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले शैक्षिक नीति अस्थिर हुनु र कामदारको तलब कम हुनुलाई जनशक्ति पलायनको कारण भने । उत्पादनमा प्रविधिको प्रयोग गरिनुपर्ने पनि उनले बताए ।
एनवाईईएफका अध्यक्ष सन्दीप अग्रवालले कामदार, विद्यार्थी हुँदै अब उद्यमी पलायनको अवस्था आएको दाबी गरे । सरकारी नीति उद्यम र व्यापारमैत्री नभएका कारण स्वदेशमा रोजगारी र आयको अवसर विस्तार हुन नसकेको भन्दै उनले काम गर्न सहज नीतिको माग गरे । मौलिक उत्पादनको निकासी र व्यावहारिक शिक्षा आयमुखी वातावरणको आधार भएको उनले बताए ।
सरकारको नीतिले नै जनशक्ति पलायन भइरहेको दाबी एनवाईईएफका निवर्तमान अध्यक्ष राकेश साहले गरे । सरकारले दिने शीपमूलक तालिम पनि वैदेशिक रोजगारीमुखी भएको अनुभव सुनाउँदै उनले भने, ‘नीति कार्यान्वयनमा चरम भ्रष्टाचारका कारण युवाहरूमा वितृष्णा बढेको छ । कर लिन अघि सर्ने सरकार सेवा सुविधा दिन पछि हटेको अवस्था छ । यसले युवामा सकारात्मक सन्देश गइरहेको छैन ।’
जनताको आधारभूत आवश्यकतामा सरकारले सुरक्षणको ग्यारेन्टी गर्नुपर्ने एनवाईईएफ पूर्वअध्यक्ष अनुप अग्रवालको भनाइ थियो । कृषि, निकासीमूलक उद्योग, पर्यटन, खनिज, जडीबुटीजस्ता क्षेत्र सम्भवनाका आधार भए पनि युवालाई स्वदेशमै रोक्ने तहसम्मको अवसर सृजना हुन नसक्नु समस्या भएको उनले उल्लेख गरे ।
उपाध्यक्ष विकास ठाकुरले उद्योग र व्यापारमैत्री नीतिमार्फत स्वदेशमै अवसर देखाउन सके विदेशिने क्रम रोकिने बताए । उनले अहिले स्वदेशमा उद्योग व्यापारको वातावरण नभएको भन्दै यसले अवसरको ढोका साँघुरो बन्दै गएको उल्लेख गरे ।
अर्का उपाध्यक्ष विश्वासप्रताप साहले सरकारी निकायमा व्याप्त भ्रष्टाचारका कारण उद्यम व्यापार गर्ने वातावरण नै बिग्रिएको दाबी गरे । यहाँ काम गर्ने अवसर नदेखेपछि जनशक्ति बाध्य भएर बाहिर गएको गुनासो उनको थियो । पत्रकार अनिल तिवारीले वास्तविक निकासीमा आधारित उद्योग ल्याउन निजीक्षेत्रलाई सुझाव दिए । उत्पादन, बजार र प्रतिस्पर्धाको अवस्थाबारे सामान्य अध्ययनसमेत नगरी लगानी ल्याउँदा समस्या भएको पनि उनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।