भ्रामक सूचना, दु:सूचना र नेपाली समाज

Share News

अहिले दर्ता भएर विधिसम्मत तरीकाले सकेसम्म तथ्यमा आधारित रहेर र विश्वव्यापी मान्यतालाई सकेसम्म अनुसरण गरेका मिडियामाथि अविश्वास गर्नेमात्र होइन, त्यसविरुद्ध अभियान नै चलाइएको छ । यसले कुनै एक समूहलाई तत्कालका लागि फाइदा होला तर लोकतन्त्र, राज्य र राज्य संयन्त्रलाई फाइदा पुग्दैन । राज्यको चौथो अंग लोकतन्त्रको रखबारी गर्ने अंग हो र आवाजविहीनहरूको आवाज पनि हो । तर, केही मिडियाकै गलत आचरण र सही सूचनाको खोजीमा नलाग्ने प्रवृत्तिका कारण समाज गलत बाटोमा जाने खतरा बढेको हो । अहिले कुनै नियमको दायरामा नआउने र नियमन गर्न नसकिने सामाजिक सञ्जालका कारण कुन भ्रामक सूचना हो, कुन दु:सूचना हो भनेर छुट्ट्याउन नसक्ने अवस्था आएको छ । यस्तो भ्रामक सूचनालाई सही मानेर हिँड्ने ठूलो जमात नै खडा हुने र सही समाचारचाहिँ अविश्वसनीय हुने अवस्था देखिएको छ । यो प्रवृत्ति नेपालमा मात्र होइन, विश्वका धेरै देशमा पाइन्छ । यस्तो प्रवृत्तिलाई पोस्ट ट्रुथ भन्ने गरिएको छ र नेपालमा पनि यस्तै प्रवृत्ति हाबी हुँदै छ । 

सेन्टर फर मिडिया रिसर्चले गरेको नेपाल सोसल मिडिया युजर्स सर्वे २०२१ ले ९१ दशमलव ८ प्रतिशत सहभागीले अनलाइनमा गलत सूचना आएको बताए भने ७ दशमलव ५ प्रतिशतले दु:सूचना नआएको बताए । नेपालमा सबैभन्दा बढी चलेको सामाजिक सञ्जाल फेसबुक हो । यसका अत्यधिक प्रयोगकर्ताले दु:सूचना भएको बताए । ७९ दशमलव ८ प्रतिशत सहभागीले अनलाइनमा गलत सूचना आएको प्रतिक्रिया दिए । युट्युबमा ४८ दशमलव १ प्रतिशत र ट्वीटरमा ३६ दशमलव ३ प्रतिशतले गलत सूचना देखिएको प्रतिक्रिया दिएका छन् । यसरी सामाजिक सञ्जालमा गलत सूचना आउन थालेपछि केही व्यक्तिले फ्याक्ट चेक गरेर सही जानकारी दिन प्रयास गरेको पनि पाइन्छ । तर, सही सूचना कसरी थाहा पाउने र सामाजिक सञ्जालमा आएका कुरा सत्य हुन् कि होइनन् भनेर मूल्यांकन गर्न सक्ने जनता नभएको अवस्थामा हल्लाले सत्य कुरालाई थिचिदिन्छ र दिएको पनि छ । यो अनुसन्धान २०२१ को हो तर अहिले सामाजिक सञ्जालको विस्तारसँगै यसको दुरुपयोगको क्रम पनि बढेको छ । सामाजिक सञ्जालमा राखिएका तथ्य वा सूचनालाई सही मानेर प्रतिक्रिया दिने तथा यसका माध्यमबाट सही कुरालाई पनि भ्रामक हो भने तोडमोड गर्ने काम व्यापक भएको पाइन्छ । सर्वेमा सहभागी ९७ दशमलव ८ प्रतिशत सामाजिक सञ्जालका प्रयोगकर्ताले गलत सूचना र दु:सूचनाले समाज र राजनीतिमा ठूलो नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेका थिए । शून्य दशमलव २ प्रतिशतले मात्रै यो समस्या होइन भनेर प्रतिक्रिया दिएका थिए । 

असत्य र भ्रामक कुरालाई सही भनेर प्रचार गरी समाजमा प्रभाव पार्ने शब्दलाई अहिले अंग्रेजीमा पोस्ट ट्रुथ शब्द प्रयोगमा ल्याउन थालिएको छ । यो शब्द सन् १९९२ मा पहिलोपटक प्रयोगमा आएको मानिए पनि सन् २०१० देखि अलिअलि प्रयोगमा आउन थालेको हो । सन् २०१६ मा अंगे्रजी भाषामा सबैभन्दा बढी प्रयोगमा आएको शब्द बन्यो । अमेरिकामा राष्ट्रपति ट्रम्पको निर्वाचनअघि र पछिका उनका अभिव्यक्तिहरू र उनको समर्थन वा विरोधमा प्रयुक्त शब्द, तर्क, लेख, रचनाहरूलाई ‘पोस्ट ट्रुथ’ विचार भन्न थालियो । सामान्य अर्थमा पोस्ट ट्रुथ भनेर राजनीतिमा सत्य–तथ्यमा आधारित भएर विवेकपूर्ण विचार विश्लेषण प्रवाह गर्नुभन्दा मानिसका झूट र भ्रममा आधारित भावनात्मक आवेग, कुण्ठा, आग्रहमा आधारित विचार, दृष्टिकोण र विश्लेषण प्रवाह गरेर जनतालाई भड्काउने र जनमतलाई आफ्नो पक्षमा पर्ने राजनीतिक संस्कार र चरित्रलाई भन्ने गरेको पाइन्छ । अहिले सामाजिक सञ्जालमा प्रयोग भएका शब्द, विचार र चिन्तनको विश्लेषण गर्दा यही पोस्ट ट्रुथको गन्ध आउन थालेको छ । यसमा सत्यभन्दा पनि विपक्षीलाई गालीगलौज गर्ने र त्यसमा जातीय, वर्गीय विद्वेष बढी ओकल्ने गरेको पाइन्छ । 

सामाजिक सञ्जाल निकै शक्तिशाली छ भन्ने कुरामा विवाद छैन तर यसले समाजलाई सही दिशामा लैजान्छ भन्नचाहिँ सकिँदैन । यसैका माध्यमबाट आन्दोलन भएका घटना पनि पाइन्छन् । त्यसैले सामाजिक सञ्जालमार्फत आउने युट्युब, अनलाइन आदि समाचारका बाढीले सत्यको प्रस्तुतिभन्दा पनि सनीसनी फैलाउने काम गर्छन् । भ्युज बढाउनका लागि यस्तो सनसनीको सहारा लिने गरिएको छ । यस्तो सनसनी आफ्नो पक्षमा आउँदा त उक्त पक्षलाई फाइदा नै होला तर विपक्षमा हावा आउँदा भने निकै समस्या पार्न सक्छ । मुख्य कुरा यसले समाजमा विखण्डन र द्वन्द्व निम्त्याउने खतरा अधिक हुन्छ । सामाजिक सञ्जालमा अहिले प्रतिशोध र घृणाको भाव फैलाउने काम अत्यधिक भएको पाइन्छ । तर्क, प्रमाणभन्दा पनि भावावेशका प्रतिक्रिया बढी पाइन्छन् । त्यसैले यस्तो प्रवृत्तिमा कमी ल्याउन सही सूचनाको स्रोत के हो, सूचनाको विश्वसनीयताको मापन कसरी गर्ने, स्वार्थप्रेरित सूचना कसरी विश्लेषण गर्ने जस्ता कुरामा आमजनतालाई सुसूचित पार्नुपर्ने अवस्था आएको छ । 

अहिले सहकारी पीडितहरू आफ्नो बचत रकम पाउन आन्दोलनरत छन् । तर, यही सहकारीको संकटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व देखिएको छ । प्रतिपक्षले जसरी माग उठाइरहेको छ त्यो सहकारीको समस्या समाधानभन्दा पनि राजनीतिले बढी प्रेरित देखिन्छ । उता सत्तापक्ष भने सहकारीमा ऐनकानून मिचिएको कुरालाई जसरी पनि लुकाउने काममा सम्पूर्ण शक्ति लगाइरहेको छ । यही विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा अनेक अशिष्ट प्रतिक्रिया आइरहेका छन् । मदनकृष्ण श्रेष्ठजस्ता व्यक्तित्वलाई समेत अहिले विवादमा तानिएको छ । कुनै एक व्यक्तिलाई मानवीकरण गर्नु र उसको कमजोरी देखाउनेप्रति अनेक लाञ्जना लगाउनु असहिष्णु चरित्र हो । यसले समाजलाई गलत मात्र होइन द्वन्द्वको बाटोमा लैजान्छ । यसले मुलुकलाई दीर्घकालीन विखण्डनको बाटोमा अघि बढाउन सक्छ । मुलुकमा अराजकता र अस्थिरता पैदा गराउन सक्छ । बन्दुक र बमको द्वन्द्वभन्दा यस्तो द्वन्द्व खतरा हुन्छ भन्नेमा सबैको ध्यान जानु जरुरी छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।