पर्यटनसम्बन्धी शिक्षा तथा तालीम बढ्दै, ट्रेकिङ सम्बन्धी तालीम लिने बढी

Share News

काठमाडौं । पछिल्लो एक दशकमा मुलुकमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा तालीम तथा शिक्षा लिनेको संख्या उल्लेख्य बढेको छ । पर्यटनसँग सम्बन्धित पर्वतारोहणदेखि ट्रेकिङ गाइड, होटेल व्यवस्थापनका साथै स्थानीय क्षेत्रमा गाइडको कामका लागि तालीम लिनेको संख्या बढेको देखिएको हो । आर्थिक वर्ष २०७०/७१ देखि २०७९/८० सम्म आइपुग्दा पर्यटनसँग सम्बन्धित होटेल व्यवस्थापन, पर्वतारोहण, ट्रेकिङ गाइड, होमस्टे, पोर्टर गाइडलगायतका लागि शिक्षा र तालीम लिनेको संख्या २५ हजार ६८६ पुगेको छ । आर्थिक वर्ष २०७०/७१ मा विभिन्न क्षेत्रमा पर्यटनसँग सम्बन्धित तालीम, शिक्षा लिनेको संख्या २ हजार ७८४ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटक तथ्यांक–२०२३’ प्रतिवेदन अनुसार पर्यटक आगमन बढ्दै जाँदा यो व्यवसायसँग सम्बन्धित शिक्षा र तालीम लिनेको संख्या बढेको हो । नेपालमा हाल पर्यटनसँग सम्बन्धित क्षेत्रमा मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल माउन्टेन एकेडेमीले होटेल व्यवस्थापन (एचएम) र पर्वतारोहण तथा ट्रेकिङ गाइडको तालीम तथा शिक्षा दिँदै आएका छन् ।

उक्त प्रतिवेदन अनुसार यो दशकको बीचमा उक्त तालीम तथा शिक्षा लिनेको संख्या क्रमश: बढे पनि भूकम्पको वर्ष (आर्थिक वर्ष २०७२/७३)मा घटेको देखिन्छ । कोरोना महामारीको वर्षमा पनि यस्तो तालीम तथा शिक्षा लिनेको संख्या घटेको छ । आर्थिक वर्ष २०७६/७७ देखि विभिन्न विधामा शिक्षा तथा तालीम लिनेको संख्या घटेको छ । दुई आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा यस्तो संख्या क्रमश: १ हजार २ सय ४९ र ९ सय ७८ थियो ।

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७९/८० मा भने उक्त शिक्षा तथा तालीम लिनेको संख्या बढेको छ । यस वर्ष पर्यटन तथा होटेल, ट्रेकिङलगायत विभिन्न सम्बन्धित क्षेत्रमा तालीम लिनेको संख्या २ हजार ६ सय ९२ रहेको छ । कोरोनाको प्रभाव न्यूनीकरण भएसँगै पर्यटकीय गतिविधि पनि बढ्दा यससम्बन्धी शिक्षा, तालीम पनि बढेको देखिएको हो ।

पर्यटनसँग सम्बन्धित होटल, ट्राभल तथा टुरिजम व्यवस्थापन, खाद्य तयारी तथा सुरक्षा, फुड/बेभरेज सर्भिस, बेकरी तथा इन्डियन स्वीट्स, बारिस्ता, टुरिष्ट गाइड, स्थानीय गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, रिभर गाइड/एड्भेन्चर टुरिजम, टुरिजम इन सर्भिस ट्रेनिङ, होमस्टे तथा फुड सेफ्टी ट्रेनिङलगायतको तालीम तथा शिक्षा लिनेहरू बढेका छन् । यसमध्ये सबैभन्दा धेरै ट्रेकिङ गाइडसम्बन्धी तालीम लिने रहेका छन् । नेपालमा ६२ दशमलव ५० प्रतिशत बिदा मनाउन तथा घुमघाम र १५ दशमलव २० प्रतिशत पर्यटक ट्रेकिङका लागि आउने गर्छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।